जुम्ला, नेपालको इतिहास, संस्कृति र प्रकृतिसँग गहिरो सम्बन्ध बोकेको भूभाग हो यसको नाम लिनासाथै मानिसलाई हिमाली सौन्दर्य, पुरानो सभ्यता र मौन तर आकर्षक धरोहरहरूको सम्झना आउँछ तर, त्यही भूभागमा लुकेर बसेका केही सम्पदा अहिले लोप हुने खतरामा छन् । खासगरी, देवल भनेर चिनिने ढुङ्गाका ऐतिहासिक संरचनाहरू, जसले शताब्दीयौं पुरानो कथा बोकेका छन्, आज मौन पीडामा हराउँदै गएका छन् ।
जुम्लाको सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टाको यात्रापछि गुठिचौर गाउँपालिका–३ हरिवाडा पुगिन्छ । बाटो चौडा भए पनि कतैकतै हिलाम्य छाप अझै मेटिएको छैन। सडक निर्माणको काम भइरहे पनि पूर्ण सहजता पाएको छैन । तर, यात्रामा पाइने दृश्य भने मनमोहक छन् । पाखापाखामा हरियालीले ढाकिएका मकैका बोट, खेतमा लहराइरहेका धानका बाल र बर्खे भेलसँगै बग्ने खोलाको सुस्साहट , यी सबैले आगन्तुकलाई अर्को संसारमा पुर्याइदिन्छन् ।
तर, प्रकृतिको रमणीय दृश्यभन्दा केही पर गाउँको एक कुनामा पुग्दा, अचानक दृश्य बदलिन्छ। आँखाले देख्ने सौन्दर्यको सट्टा हृदयलाई छुने मौनता र रहस्यमयता फैलिएको हुन्छ। त्यहाँ चुपचाप उभिएका, समयसँगै थाकेका पुराना ढुङ्गाका संरचनाहरू छन यि नै हुन् । देवल , जुम्लाको मौन इतिहासका साक्षी ।
देवल : मौन इतिहासका संरचना
पहिलो नजरमा यी संरचना केवल ढुङ्गाका थुप्रा जस्ता लाग्न सक्छन्। तर नजिक गएर हेर्दा महसुस हुन्छ । यी संरचना साधारण होइनन्, विगतका पुस्ताहरूको पसिना, सीप र आस्थाले बनेका अद्भुत धरोहर हुन्। कतिपय ढुङ्गामा कुँदिएका कलात्मक आकृतिहरू अझै स्पष्ट देखिन्छन्। देवी–देवताका मूर्ति, ज्यामितीय संरचना, ढोकाको चौकटमा गरिएको बुट्टा यी सबै तत्कालीन कारीगडि र वास्तुकलाको उत्कृष्टता प्रमाणित गर्छन् ।

देवल केवल पूजा अर्चनाका थलो होइनन्, पुरातात्त्विक दृष्टिले अत्यन्त महत्वपूर्ण संरचना हुन्। ढुङ्गा काटेर मिलाउने तरिका आजको आधुनिक प्रविधिले पनि सहजै नक्कल गर्न सक्दैन। यस्तो सीपले देखाउँछ । त्यो समयका कारीगरहरूको प्रतिभा कति उच्च थियो ।
तर दुर्भाग्यवश, समय र बेवास्ताले यी संरचना जीर्ण हुँदै गएका छन् । कतिपय ढुङ्गामा चिरा परेका छन्, कतै माथिल्लो भाग खसेर हराई सकेका छन् । केही वर्षमै बाँकी भाग समेत खस्ने खतरा छ। किंवदन्ती र विश्वास : पाण्डवसँग जोडिएको कथा
हरिवाडाका ज्येष्ठ बासिन्दाहरूको विश्वासमा यी देवल महाभारतकालसँग जोडिएका छन् । किंवदन्तीअनुसार, पाण्डव पाँच दाजुभाइ वनवासमा हिँड्दै गर्दा यसै स्थानमा आइपुगेका थिए। यहीँ बास बसेर उनीहरूले धर्मस्थल निर्माण गरेका थिए। यही कारण, पुरानो पुस्ताले गर्वसाथ भन्छ “हाम्रो गाउँमा पाण्डवले पाइला टेकेका थिए।”
यो भनाइको ऐतिहासिक प्रमाण अझै अनुसन्धान हुन बाँकी छ। तर, विश्वास भने समाजलाई बाँध्ने शक्तिशाली तत्त्व हो। स्थानीयको धार्मिक आस्था, गर्व र सांस्कृतिक पहिचान यी कथाहरूमा गाँसिएका छन्। जति नै वैज्ञानिक प्रमाण नहोस्, आस्थाको शक्ति अझै बलियो छ ।
वास्तुकला र कला : ढुङ्गामा जीवन
देवलका ढुङ्गामा गरिएको कलात्मक काम केवल सौन्दर्यका लागि मात्र होइन, संस्कृतिको प्रतिनिधि हो । देवी–देवताका मूर्तिहरूले तत्कालीन समाजको धार्मिक मान्यतालाई देखाउँछन्। ज्यामितीय आकृतिहरूले वास्तुशास्त्र र गणितीय ज्ञानको झलक दिन्छन्।
ढोकाको चौकटमा कुँदिएका बुट्टाहरू अझै पनि आकर्षक छन्। यी कलात्मक नमुनाहरूले पुरानो जुम्लेली कला र कारीगरीलाई उजागर गर्छन्। आज हामीसँग कम्प्युटर, मेसिन र प्रविधि भए पनि, त्यस्तो प्राकृतिक सौन्दर्यसहित ढुङ्गा काट्ने र मिलाउने सीप विरलै देखिन्छ।
मौन पीडा : संरक्षणको बेवास्ता
तर यतिबेला देवलको अवस्था पीडादायी छ। कतिपय ठाउँमा ढुङ्गा खसिसकेका छन्। माथिल्लो भाग गायब छन्। वर्षा र प्राकृतिक प्रकोपका कारण ढुङ्गामा चिरा पर्न थालेका छन्।
गाउँकै जग्गादाता भीम बहादुर भण्डारी भन्छन् “सदरमुकामसँगै जोडिएको सजिलो बाटो भए पनि कसैले चासो दिएको छैन। न स्थानीय सरकार, न पुरातत्त्व विभाग सबैले बेवास्ता गरेका छन्।”
युवाहरू भने अलि सक्रिय छन्। राजबिक्रम रावल सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाइरहेका छन्। उनको भनाइमा
“पूर्ण पुनर्निर्माण आवश्यक छैन। मर्मत सम्भार र घेरबार मात्र भए पनि सम्पदा सुरक्षित हुन्छ। संरक्षण भयो भने पर्यटन व्यवसायमा ठूलो फाइदा हुन्छ।”
अर्का स्थानीय टक्क भण्डारी जोड्छन् “माथिका ढुङ्गा दुई, तीन वर्षदेखि हराइसकेका छन् । छालाका डलर पनि हराएका छन् । यसरी त केही वर्षमै सम्पूर्ण संरचना नै मेटिनेछ।”
यी भनाइहरूले प्रष्ट पार्छन् । सम्पदा केवल समयले मात्र होइन, मानिसको लापरबाही र बेवास्ताले पनि हराउँदै गएका हुन्।
समस्या केवल हरिवाडामा मात्र होइन
देवल संरक्षणको समस्या केवल हरिवाडासम्म सीमित छैन ।
गुठिचौर–३ गर्ज्याङ्गकोट, वडा नं. ४ दशौंदी लगायतका जिल्ला भरी नै थुप्रै ठाउँमा भेटाउन सक्छौ चन्दननाथ ७ मिचा गाउँमा पन्च देवल , त्यस्तै श्रीढुस्कामा १७ खम्बा , बयलकाटियामा देवल , सिजाक्षेत्रमा जाचमा धारो, कोटघरमा देवल लगाएत थुप्रै ठाउँमा रहेका पाण्डवकालीन देवलहरू पनि समान संकटमा छन् । कथा एउटै छ ,उपेक्षा, जीर्णता र हराउँदै गएको गौरव ।
यी सबै सम्पदाले स्थानीय पहिचान मात्र होइन, राष्ट्रिय गौरव बोकेका छन् । तर, राज्यका कुनै तहबाट प्राथमिकता पाएका छैनन्।
धार्मिक र सांस्कृतिक महत्व
देवल केवल ढुङ्गाका संरचना होइनन्। यी धार्मिक दृष्टिले पवित्र थलो हुन्। स्थानीयहरूको विश्वासअनुसार यहाँ पूजा अर्चना गर्दा मनोकामना पूरा हुन्छ। गाउँमा विवाह, जन्मोत्सव वा अन्य धार्मिक अनुष्ठानमा देवलसँग सम्बन्धित आस्था अझै जोगिएको छन ।
सांस्कृतिक दृष्टिले पनि यी सम्पदा गाउँको पहिचान हुन् । पुरानो पुस्ता गर्वका साथ सुनाउँछ “हाम्रो गाउँमा पाण्डवको पाइला परेको छ।” यस्तो विश्वासले गाउँको सांस्कृतिक आत्मसम्मानलाई जोडेको छ।
पर्यटनसँग जोडिने सम्भावना
यदि संरक्षणमा ध्यान दिइयो भने यी देवलहरू जुम्लाको पर्यटनमा प्रमुख आकर्षण बन्न सक्छन्। ढुङ्गामा कुँदिएको कला, पुरातात्त्विक महत्व र धार्मिक विश्वास मिलेर विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने शक्ति राख्छन ।
यो सम्पदालाईधार्मिक तिर्थ पर्यटन सँग पनि जोड्न सकिन्छ। जुम्लाको धार्मिक मार्गचित्र तयार पारेर यी देवललाई केन्द्र बनाउन सकिन्छ। जसरी काठमाडौं उपत्यकामा पुराना मन्दिरहरूले पर्यटकलाई आकर्षित गर्छन्, त्यस्तै सम्भावना यहाँ पनि छ ।
पर्यटन मार्फत स्थानीय अर्थतन्त्रमा ठूलो फाइदा पुग्छ। स्थानीयलाई रोजगारी सिर्जना हुन्छ। होटल, पसल, यातायात, गाइड सेवाजस्ता क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्छ।
संरक्षणका चुनौती
तर संरक्षण सहज छैन। यसमा विभिन्न चुनौती छन्
स्थानीय सरकारको बेवास्ता : प्राथमिकतामा नै नराखिएको।
पुरातत्त्व विभागको निष्क्रियता : अध्ययन, अनुसन्धान वा संरक्षणमा सक्रियता देखिएको छैन।
समाजभित्रको उदासीनता : स्थानीयमै गौरवबोध हराउँदै गइरहेको छ।
प्राकृतिक प्रकोप: वर्षा, हावाहुरी, भूकम्प जस्ता कारणले संरचना जीर्ण हुँदै गएका छन्।
आर्थिक अभाव : संरक्षणका लागि आवश्यक बजेट उपलब्ध छैन।
अब के गर्ने ?
यी सम्पदा जोगाउन पूर्ण पुनर्निर्माण आवश्यक छैन। केवल मर्मत सम्भार, घेरबार र नियमित सरसफाइ भए पनि यी संरचना दशकौंसम्म सुरक्षित रहन सक्छन्।
सर्वप्रथम, स्थानीय सरकार र समुदाय सक्रिय हुनुपर्छ। संरक्षण अभियानलाई प्राथमिकतामा राख्नुपर्छ। पुरातत्त्व विभागले वैज्ञानिक ढंगले अध्ययन गरेर यसको ऐतिहासिक मूल्य प्रमाणित गर्नुपर्छ।
यससँगै, पर्यटनसँग जोडेर संरक्षणलाई आर्थिक रुपमा दिगो बनाउन सकिन्छ। स्थानीय युवाहरूलाई गाइड, होमस्टे, संस्कृतिक कार्यक्रम मार्फत रोजगारी दिन सकिन्छ।
निष्कर्ष : मौन इतिहासलाई बचाऔं
गुठिचौर लगाएत जुम्लाका यी देवल केवल ढुङ्गा होइनन्। यी जुम्लाको इतिहास, संस्कार र पहिचान बोकेका मौन स्मारक हुन्। तर, बेलैमा संरक्षण भएन भने केही वर्षपछि यहाँका मानिसहरूले केवल ढुङ्गाका टुक्रा देखाउँदै भन्नुपर्नेछ
“यतै कतै देवल थियो रे!”
अझै समय छ। स्थानीय समुदाय, सरकार र पुरातत्त्व विभागले संयुक्त पहल गरेर यी सम्पदा जोगाउन सकिन्छ । यी मौन संरचनाहरूलाई पुनः जीवन दिन सकिन्छ।
देवलहरूको संरक्षण भनेको केवल ढुङ्गा जोगाउनु होइन, हाम्रो इतिहास, संस्कृतिको आत्मा र भविष्य जोगाउनु हो। त्यसैले आजैदेखि हामी सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।





