जुम्ला । जुम्लाका स्याउ किसानलाई अब उत्पादन सुरक्षित राख्न र सहजै बजारसम्म पुर्याउन आधा मूल्यमै कार्टुन उपलब्ध गराइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई जुम्लाले ५० प्रतिशत अनुदानमा कार्टुन वितरण सुरु गरेको हो ।

कार्यालय प्रमुख सन्तोष कुमार चौधरीका अनुसार मंगलबार देखि काटुन वितरण थालिएको बताए । चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत प्याकेजिङ, लेबलिङ तथा पोस्ट-हार्भेस्ट क्षति न्यूनिकरण कार्यक्रममा यो पहल गरिएको उनकाे भनाइ छ ।
यस्तै कार्यालयका सूचना अधिकारी पदमराज कार्कीले ११ हजार कार्टुन भित्र्याइएको र हालसम्म ११ जना किसानलाई ७ हजार ९४० कार्टुन वितरण भइसकेको जानकारी दिए।
४ लाख ९५ हजार रुपैयाँ नेपाल सरकार र ५० प्रतिशत किसानको लागत सहभागितामा ९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। कृषक समूह, सहकारी, कृषि उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिइएको छ। प्रति किसानले ३०० देखि १,००० भन्दा बढी कार्टुन प्राप्त गरेका छन्।
स्याउ उत्पादनमा पोस्ट-हार्भेस्ट क्षति कम गर्न सहयोग पुग्ने विश्वास किसानहरूले व्यक्त गरेका छन्। तिला गाउँपालिका–४ नुवाकोटका किसान कुशल खत्रीले ३०० कार्टुन लिँदै “यसले स्याउ ढुवानी र बिक्रीमा सहज बनाएको बताए ।
कार्टुन खरिद प्रक्रियामा कमला जनरल स्टोर एण्ड सप्लायर्स, सिस्ने जलजला कृषि तथा पशुपन्छी पालन फर्म, कालिका कृषि तथा पशुपन्छी फर्म, डी.बी. जनरल स्टोर, स्मार्ट एग्रो फर्म, जस्मिन कृषि फर्म, संयुक्त कृषि तथा पशुपन्छी पालन फर्म, विकास खुद्रा पसल, मनका एण्ड विपना पशुपन्छी पालन उद्योग, स्टार एग्रो फर्म र चौलागाई कृषि तथा पशुपन्छी पालन फर्म सामेल छन्।
सरकारको सानो सहयोगले किसानलाई ठूलो राहत पुगेको भन्दै किसानहरूले यसलाई उत्साहजनक कदमको रूपमा लिएका छन्।





