जुम्ला । आश्विन कृष्ण प्रतिपदा देखि सुरु भएको पितृपक्ष (सोह्रश्राद्ध) आज औँसी तिथिको श्राद्ध सँगै समाप्त हुँदैछ । दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने वैदिक परम्परा अनुसार यो पक्षको समापन गरिन्छ ।

पितृपक्ष सकिए सँगै भोलि (सोमबार) देखि बडादशैँको दुर्गापक्ष सुरु हुनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज श्राद्ध गर्न नसक्नेका लागि वैकल्पिक मिति व्यवस्था गरिएको छ ।
उनका अनुसार रोकिएका श्राद्ध आश्विन शुक्ल पञ्चमीसम्म, त्यसपछि कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिर सङ्क्रान्तिसम्म पनि गर्न सकिन्छ ।
चाडपर्व र अन्य शुभकार्य अघि पितृहरूलाई सम्झेर सोह्रश्राद्ध गर्ने परम्परा रहँदै आएको छ । धार्मिक विश्वास अनुसार, यो अवधिमा पितृहरू आफ्ना सन्तान बाट पिण्ड र जल तर्पणको आशमा मर्त्यलोकमा आउँछन । श्राद्धले पितृऋणको मुक्ति दिलाउने र तिनको आशिर्वाद प्राप्त हुने जनविश्वास छ ।
यद्यपि पितृपक्ष आज समाप्त भए पनि मातामह (आमाको बुबा) को श्राद्ध भोलि आश्विन शुक्ल प्रतिपदामा गरिनेछ । यस अवसरमा जुम्लाको दानसाघु , काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावती, देवघाट, त्रिवेणी लगायतका प्रमुख तीर्थस्थलमा श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको छ ।





