जुम्ला । चन्दननाथ नगरपालिका भित्रका जोखिममा रहेका बालबालिका लाई शैक्षिक सामग्री प्रदान गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी, चन्दननाथ नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको सहजीकरणमा यो वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

महिला शाखाले नगर क्षेत्रका सबै वडामा पुगेर सीपीआइएमएस फाराम मार्फत जोखिममा रहेका बालबालिकाको तथ्यांक संकलन गरेको थियो । संकलन पछि ती बालबालिकालाई उच्च, मध्यम र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएको छ । सो मध्ये उच्च जोखिममा परेका बालबालिकालाई प्राथमिकतामा राखी शैक्षिक सामग्री हस्तान्तरण गरिएको बिहानी परियोजनाले जनाएको छ।
चन्दननाथ–८ स्थित भैरव माध्यमिक विद्यालय, धुपीढुष्काको ४८औँ वार्षिकोत्सवको अवसरमा बाल विकास केन्द्र (ईसीडी) र उच्च जोखिममा रहेका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ ।
यससँगै, श्री मालिका आधारभूत विद्यालय, श्री अशोक नमुना आधारभूत विद्यालय, श्री बाल मन्दिर आधारभूत विद्यालय, श्री चन्दननाथ नमुना माध्यमिक विद्यालय, श्री शम्भुनाथ ज्ञानकुञ्ज माध्यमिक विद्यालय र श्री भगवती आधारभूत विद्यालयमा अध्ययनरत जोखिममा रहेका बालबालिका लाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ।
त्यस्तै, चन्दननाथ–१ आचार्यबाडास्थित श्री मालिका आधारभूत विद्यालयको बाल विकास केन्द्रमा समेत शैक्षिक सामग्री हस्तान्तरण गरिएको बिहानी परियोजनाले जानकारी दिएको छ।





