जुम्ला । जुम्लाको सिंजा गाउँपालिका अचानक अन्धकारमा परेको छ । गाउँपालिका–२ स्थित शान्ताखोला लघुजलविद्युत ‘उज्यालो आयोजना’का तीन जना कर्मचारीले १८ महिनादेखि तलब नपाएपछि बिद्युत आपूर्ति पूर्ण रूपमा बन्द गरेका हुन् ।

आयोजनाका अपरेटर महेन्द्र तिवारी, धनजित सुनार र गंगाराम तिवारीका अनुसार अघिल्लो र नयाँ दुबै समितिले तलब नदिँदा सेवाबन्दी गर्न बाध्य भएका हुन् ।
“हामीले लगातार सेवा दिँदै आएका थियौं, तर वर्षदिनभन्दा बढी तलब नपाएपछि अब काम रोक्नै पर्यो,” अपरेटर महेन्द्र तिवारीले बताए ।
बिद्युत सेवा ठप्प भएपछि सिंजाका चुलेलगाउँ, अगस्तीवाडा, रनुखाना, बिष्टवाडा, घोडेङ्गा र थरबिष्टवाडा लगायतका बस्ती अन्धकारमा डुबेका छन् ।
बिजुली अभावका कारण स्थानीयको दैनिक जीवन, व्यावसायिक गतिविधि र विद्यालय अध्ययनमा समेत असर परेको छ । स्थानीयवासीले प्रशासन र गाउँपालिकाले तुरुन्त पहल नगरे समुदाय लामो समयसम्म अन्धकारमा बस्नुपर्ने चेतावनी दिएका छन् ।





