नेपालको राजनीतिमा “पुस्तान्तरण” भन्ने शब्द सुन्दा धेरैलाई नयाँ युग सुरु हुने आशा पलाउँछ होला पुराना नेताहरू हटे पछि स्वतः सफा राजनीति, सुशासन, र पारदर्शीता असल शासन आउँछ भन्ने विश्वास कतिपयले सोच्छन होला । २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि स्थापित बहुदलीय व्यवस्थाले राजनीतिक प्रतिस्पर्धा लाई संस्थागत गर्ने अवसर प्राप्त भयो । तर तीन दशकको अनुभवले के देखाउन्छ भने “नेता बदलिँदा मात्र देश बदलिँदैन ।” आजको दिनमा पुस्तान्तरणको नारा फेरि उचालिँदै छ । मेरो प्रश्न , के वास्तवमै पुस्ता बदलिँदा मात्रै देशको राजनीति सुध्रिन्छ वा सुध्रीने हो त ? मलाई त्यस्तो लाग्दैन शिलशिलेवार छलफल गरौ ।

आजको पहिलो पुस्ताको उदय र विरासत
२०४६ को परिवर्तन पछि पहिलो पुस्ताका नेताहरू लोकतन्त्रको मुख्य आधार बने । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई देखि लिएर नेकपा एमालेका मनमोहन अधिकारी, माओवादी आन्दोलनका पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगाएत अन्य नेताहरूले प्रणालीगत परिवर्तनको नेतृत्व गरे । गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता संरचनात्मक परिवर्तनमा उहाँहरूको भूमिका लाई अस्वीकार गर्न सकिँदैन ।
तर यिनै नेताहरूको दीर्घकालीन सत्तालिप्सा, आपसी गुटबन्दी, र भ्रष्टाचार जन्य गतिविधिका कारण जनता निराश बन्दै गए । समयक्रममा नेतृत्वमा नयाँ पुस्ता उदाउने अपेक्षा बढ्यो । यही निराशाले दोस्रो पुस्ताप्रति ठूलो आशा जगाएको हो । आज पार्टी भित्र र बाहिर तथा आम जनमानसमा पुस्तान्तरणको बहस आएको हो ।
दोस्रो पुस्ताको उदय सङ्गै आशा र वास्तविकता
०६२/०६३ को आन्दोलन पछि देखिन थालेका युवा अनुहार हरूलाई दोस्रो पुस्ता भन्न थालियो । पार्टी भित्र दशकौँ सम्म संगठित राजनीतिमा लागेका केही नेताहरू जनतामा लोक प्रिय समेत भए ।
• नेकपा (एमाले) :- संकर पोखरेल, योगेश भट्टराई, प्रदीप ज्ञवाली लगाएतका नेता
• नेपाली कांग्रेस : गगन थापा, पूर्णबहादुर खड्का, मोहन बस्नेत, विश्वप्रकाश शर्मा लगाएतका नेता
• एकीकृत नेकपा (माओवादी): जनार्दन शर्मा, वर्षमान पुन राम कार्की आदि
• एकीकृत समाजवादी : घनश्याम भुषाल आदि
यी नेताहरूले आन्दोलनको बेला र त्यस पछिका वर्षमा युवाको प्रतिनिधित्व गर्दै ठूलो चर्चा पाए । जनतामा उनीहरूलाई नयाँ सोचका धनी भनेर प्रचार गरियो गर्ने क्रम जारी नै रहेको छ ।
जिम्मेवारी र प्रदर्शनको समीक्षा
यो पुस्ताले पनि बेला बखत अवसरहरु पनि पाएका छन तर अवसर पाउँदा नतिजा भने आशा लाग्दो भने पाइएन । मन्त्रालय सम्हाल्दा नीति निर्माणमा स्थायी सुधार ल्याउन सकेनन् न त पार्टी भित्र नै उनीहरुले गर्ने गतिविधिहरु नै सम्मान गर्न लायक छन । केही उदाहरण हेरौ ।
• मन्त्री हुँदा ठूला सुधारको वाचा गर्ने तर कार्यान्वयनमा कमजोर रहनु ।
• पारदर्शिता र सुशासनको मुद्दामा ठोस कदम नचलाउनु ।
• गुटबन्दी र सत्ता समीकरणमै बढी समय खर्चिनु ।
• आफुले सम्माहेको मन्त्रालय बाट समेत सुधारका लागि छिटफुट बाहेक त्यस्तो गतिविधि केही नदेखिनु ।
यी कारणले जनतामा दोस्रो पुस्ता प्रति पनि निराशा फैलिरहेको छ । पुरानो पुस्तालाई आलोचना गर्ने तर आफू पनि पुरानै शैलीमा रमाउने प्रवृत्तिले उनीहरूलाई जनताको आँखामा उही पुराना अनुहार जस्तै बनाइ दिएको छ ।
अन्तर्राष्ट्रिय दृष्टान्त र नेपालको युवा आन्दोलनमा नेतृत्वको यथार्थ र चुनौती
विश्व राजनीतिले के देखाउँछ भने नेतृत्वको सार उमेरमा होइन दृष्टि र क्षमतामा हुन्छ । अमेरिका, भारत, मलेसिया , बेलायत र रुस जस्ता देशका उदाहरणले यो तथ्य स्पष्ट पार्छ ।
अमेरिकामा ८० वर्षका डोनाल्ड ट्रम्प पुन राष्ट्रपति पदको दौडमा छन , जबकि जो बाइडेन ८० पार गरेर पनि सक्रिय शासन गर्दैछन । भारतका नरेन्द्र मोदी ७८ वर्ष पुग्दा पनि लोकप्रियतामा कुनै कमी आएको छैन । किनकि जनताले उनको नीति र परिणामलाई प्राथमिकता दिएका छन । मलेसियामा ८५ वर्षीय महाथिर मोहम्मदले पुन प्रधानमन्त्री भएर देशलाई आर्थिक सुधारतर्फ डोर्याएका थिए । रुसका ७० वर्षीय भ्लादिमिर पुटिन अझै पनि निर्णायक शक्ति बनेर विश्व राजनीतामा सक्रिय छन । यी सबै उदाहरणले देखाउँछ भने उमेर घट्दा मात्र नेतृत्व सफल हुन्छ भन्ने धारणाको कुनै वैज्ञानिक आधार छैन ।
दृष्टिकोण, ईमानदारी , कार्यकुशलता र परिणाम नै मूल्यांकनको मापदण्ड हुनुपर्छ ।
नेपालको राजनीतिक इतिहासमा पनि परिवर्तनको प्रमुख शक्ति युवाहरू नै छन् । २०४६ को जनआन्दोलनमा विद्यार्थी, युवा श्रमिक , व्यवसायी , शिक्षक कर्मचारी लगायत बौद्धिक ब्यक्तित्व तथा बौद्धिक सङ्गठनहरु अग्रमोर्चामा थिए । सडक प्रदर्शन, गोप्य संगठन र प्रचारको जिम्मा उनीहरूकै काँधमा थियो । जसले बहुदलीय प्रजातन्त्र पुनःस्थापनामा निर्णायक योगदान दिएको थियो । १० बर्षे जनयुद्धमा पनि युवाहरुको भुमिका महत्त्वपूर्ण रहेको थियो । २०६२/०६३ को आन्दोलनमा पनि युवाको भूमिका उत्तिकै महत्त्वपूर्ण रह्यो । राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनमा क्याम्पसका गेड देखि गाउँका गल्ली सम्म युवाको जोशले गणतन्त्रको बाटो खोल्यो ।
अहिले पनि युवाहरू सामाजिक सञ्जाल मार्फत भ्रष्टाचार, बेथिति र नीतिगत कमजोरी विरुद्ध जागरूक देखिएका छन् । बेला बखतका घटनाक्रमहरु “Enough is Enough” अभियान, चिकित्सा शिक्षा सुधारको आन्दोलन, वातावरण संरक्षणका स्थानीय पहल , अहिले भ्रष्टाचार र बेथितिका विरुद्धको जेन्जी आन्दोलन आदि नयाँ पुस्ताको सक्रियताको स्पष्ट उदाहरण हुन । तर राजनीतिक पार्टीभित्र संगठित युवा आन्दोलन भने पुरानै गुटबन्दीमा अड्किएको छ । विद्यार्थी संगठनहरू चुनावी तयारी र नेताको गुट मजबुत पार्ने तिर बढी लाग्दा नीति निर्माण र संस्थागत सुधारको योगदानमा कमजोर रह्यो ।
यस पृष्ठभूमिले के देखाउँछ भने नेतृत्वमा मात्र उमेर घट्नु वा पुस्ता बदल्नु पर्याप्त छैन । अन्तर्राष्ट्रिय अनुभवले देखाएझैँ अनुभवी पुराना नेता र सक्षम युवा दुवैको सहकार्य आवश्यक छ ।
नेपालको युवा आन्दोलनले जोश र साहस देखाएको छ तर दीर्घकालीन परिवर्तनका लागि संस्थागत पारदर्शिता, आन्तरिक लोकतन्त्र र नीति तथा दृष्टिको गहिरो तयारी अनिवार्य सर्त हो । पुस्तान्तरणको बहस तब मात्र अर्थपूर्ण हुन्छ, जब नेतृत्व मूल्य क्षमता र परिणामका आधारमा चयन हुनुपर्छ । नत्र उमेरको अदलबदलले मात्र देशको बिकास तथा मुहार परिबर्तनमा केही हुँदैन हुनेछैन ।
अहिलेको जेन्जी आन्दोलन बाट प्राप्त उपलब्धिको पहिलो कदमले पनि यहि देखाउन्छ , पात्र फेरिदैमा केही हुदैन पबृती फेरियो भने देशको मुहार फेरिने हो ।
पुस्तान्तरणको वास्तविक अर्थ
“पुस्तान्तरण” भन्नाले केवल उमेरको अदलबदल होइन, मूल्य र सोचको परिवर्तन बुझिनु आवश्यक छ । दोस्रो पुस्ताले पुरानै शक्तिको खेल दोहोर्याए पछि पुस्तान्तरणको बहस निरर्थक देखिएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमी, योग्य नेतृत्व उत्पादन गर्ने प्रणालीको अभाव, र विचार भन्दा पदको लालसाले नयाँ पुस्तालाई पनि पुरानो पुस्ता जस्तै बनाइदिएको छ । हुँदाहुँदा जेन्जी आन्दोलन पनि पुरानै अनुहार खोज्नमा तल्लिन रहयो ।
नेपालको राजनीति उमेरको आधारमा होइन, गुणको आधारमा चल्नुपर्छ । पुराना नेतामा अनुभव छ भने नयाँ पुस्तामा जोश । यी दुवैको संयोजनबाट मात्र स्थायित्व र विकास सम्भव छ । भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । त्यसका लागि:
• पार्टीभित्र पारदर्शी लोकतान्त्रिक चुनाव प्रणाली द्वारा नेतृत्व चयनको अभ्यास लागू गर्नुपर्छ ।
• योग्य व्यक्तिलाई उमेर वा गुट भन्दा कामको मूल्यांकन लाई आधार बनाई नेतृत्वमा ल्याउने व्यवस्था गर्नुपर्छ ।
• नीति, दृष्टि र नैतिकताका आधारमा नेतृत्व छनोट गर्नुपर्छ ।
सबै पुस्ताका सक्षम मानिस बीच समन्वय भए पछि मात्र मुलुकको दीर्घकालीन विकास सम्भव हुन्छ होइन भने उमेर फेर्दैमा केही हुदैन ।
पुस्तान्तरण भन्दा बढी आवश्यक गुणस्तरीय नेतृत्व
नेपालको वर्तमान अवस्थाले के देखाउँछ भने केवल पुस्ता परिवर्तनले राम्रो शासन ल्याउँदैन । दोस्रो पुस्ताले अवसर पाउँदा पनि पुरानै गल्ती दोहोर्याएका छन । जनताले उमेर वा पुस्ता होइन कामको आधारमा नेता छान्नुपर्छ । भ्रष्टाचारको विरुद्ध कठोर कदम चाल्ने सुशासन कायम गर्ने नीतिगत सुधार गर्ने नेतृत्वलाई मात्र समर्थन गर्नुपर्छ ।
त्यसैले “पुस्तान्तरण” को लोकप्रिय नारा भन्दा पनि सबै पुस्ताका राम्रा मानिस बीच सहकार्य र पारदर्शी प्रणाली निर्माण नै नेपालको आवश्यकता हो । यदि मुलुकको नेतृत्व केवल दोस्रो पुस्तालाई जिम्मा दिइयो भने पनि वर्तमान अनुभवले देखाई सकेको छ कि नेपालमा केबल दुर्घटना बाहेक अर्को नतिजा आउने सम्भावना देखिदैन । जनताले पनि भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्छ । यही हो आजको यथार्थ ।





