जुम्ला । जुम्लाको शैक्षिक मानचित्रमा विशेष स्थान बनाएको JR कर्णाली बोर्डिङ स्कूल जुम्लाले यही शुक्रबार पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम आयोजना गर्दैछ । २०५७ सालमा स्थापना भएको विद्यालयले दुई दशक भन्दा बढी समय देखि शैक्षिक उत्कृष्टता, खेलकुद र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

कार्यक्रमका प्रमुख उद्देश्यहरूमा पूर्वविद्यार्थीहरूलाई फेरि एकसाथ जोड्नु, पुराना सम्झनाहरू ताजा गर्नु र विद्यालय परिवार भित्र आत्मीयता सुदृढ गर्नु रहेका छन । विद्यालय प्रशासनका अनुसार पूर्वविद्यार्थीहरूको जीवनमा हासिल गरेका सफलताका कथाले वर्तमान विद्यार्थीहरूलाई प्रेरित गर्नेछन भन्ने विश्वास गरिएको प्रधानाध्यापक अमरनाथ याेगीले जानकारी दिए ।
उनका अनुसार, पूर्वविद्यार्थीहरूले विद्यालयमा बिताएका दिनहरू सम्झँदै साझा गर्ने समय यस कार्यक्रमको हाइलाइट हुने बताए । पुराना साथीहरू, शिक्षकहरू र विद्यालयको वातावरण सम्झँदै धेरैले आँखा भिजाउने क्षण पनि आउने अपेक्षा गरिएको छ । पूर्वविद्यार्थी वसन्त बुढाले भने, स्कूलका दिनहरू जीवनकै अविस्मरणीय सम्झनाहरू हुन । पुनर्मिलनले हामीलाई फेरि त्यो परिवारको हिस्सा बनाएको महसुस गराउँछ ।
संस्थापक र शिक्षक प्रति सम्मान :
कार्यक्रमको विशेष आकर्षण संस्थापक र शिक्षकहरूप्रति कृतज्ञता प्रकट गर्ने क्षण हुने छ । यसमा विद्यालयका पहिलाका शिक्षक, संस्थापक र योगदानकर्ता हरूलाई सम्मान गरिनेछ, जसले विद्यालयको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन ।
Alumni Association स्थापना :
यसै अवसरमा “JR Karnali School Alumni Association” स्थापना गरिनेछ । संघले पूर्वविद्यार्थी हरूबीच निरन्तर सम्पर्क र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । प्रेन्सिपल अमर नाथ योगिका अनुसार, “हाम्रो उद्देश्य केवल सम्झनामा सीमित नरहनु हो, बरु विद्यालय परिवारलाई लामो समयसम्म सक्रिय र सशक्त बनाउनु हो। Alumni Associationले यसलाई सम्भव बनाउनेछ।”
नमुना शैक्षिक गन्तव्य :
विद्यालयले पठनपाठन सँगै खेलकुद, सांस्कृतिक र अतिरिक्त गतिविधिमा गरेको उत्कृष्ट कामले जिल्लामा नै नमुना शैक्षिक गन्तव्यको पहिचान दिलाएको छ । विद्यालयका शिक्षक र विद्यार्थीहरू दुवैले यस अवसरमा आफ्नो अनुभव र उपलब्धि साझा गर्दै, नयाँ पुस्तालाई प्रेरित गर्ने अवसर पाउनेछन ।
विद्यालय प्रशासनले पुनर्मिलन कार्यक्रमले विद्यालय परिवारमा नयाँ ऊर्जा, उत्साह र एकता थप्ने विश्वास व्यक्त गरेको छ । यस कार्यक्रमले केवल पुराना सम्झनाहरूलाई ताजा गर्ने मात्र होइन, भविष्यमा विद्यालयलाई अझ सशक्त र प्रेरणादायी बनाउने दिशा पनि दिनेछ।
पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमले जे,आर कर्णाली बोर्डिङ स्कूलको विद्यालय परिवारलाई फेरि एकसाथ बाँध्ने र प्रेरित गर्ने अवसर सिर्जना गर्दै, जिल्लामा शैक्षिक उत्कृष्टताको झल्को अझ चम्किलो बनाउने अपेक्षा गरिएको छ ।





