जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाको मुद्दा फाँटका खरिदार रामकृष्ण पाण्डेले सेवाग्राही माथि हप्की-हप्की गर्ने, कागजात लुकाउने र दादागिरी मच्चाउने आरोप लागेको छ ।

सात वर्षदेखि सोही फाँटमा कार्यरत पाण्डेमाथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईमाथि अभद्र व्यवहार गरेको गम्भीर आरोप सार्वजनिक भएको हो ।
महासंघका अध्यक्ष चौलागाई अभद्र व्यवहार सम्बन्धी मुद्दाको जानकारी लिन मुद्दा फाँट पुगेका बेला पाण्डेले अशोभनीय व्यवहार गरेको जनाइएको छ। यस घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ , सार्वजनिक निकायमा जनताले जानकारी लिन पाउने अधिकार कुण्ठित गर्दै पाण्डेले अभद्र व्यवहार गरेका छन्। यस्तो व्यवहारले प्रशासनमा सेवा लिन आउने आम नागरिकमै असहजता र त्रास सिर्जना गरेको छ।
विज्ञप्तिमा पाण्डे माथि सम्बन्धित कागजात लुकाउने, मुद्दा तोडमोड गर्ने र निष्पक्ष सेवा प्रवाह नगर्नेजस्ता गम्भीर आरोप पनि लगाइएको छ। महासंघले तत्काल पाण्डेलाई मुद्दा फाँटबाट हटाउन र निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।
महासंघका अध्यक्ष चौलागाई माथि भएको अभद्र व्यवहार बारे कारबाही नभए महासंघ कानुनी बाटो अवलम्बन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
त्यसबेला पाण्डेले भने आफ्नो फेसबुकमा फाँटमा कार्यरत बेला केही व्यक्तिहरूले अपशब्द प्रयोग गर्दै धम्की दिएका छन् भन्दै लेखेका थिए । तर, महासंघले उक्त दाबीलाई आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भन्दै खण्डन गरेको छ।
जुम्लाको प्रशासनिक कार्यालयभित्रै सेवा प्रवाह गर्ने निकायका कर्मचारीबाटै यस्तो दादागिरी देखिनु सरोकारवालाका लागि गम्भीर प्रश्न बनेको छ।





