जुम्ला । जुम्लाको शान्त उपत्यकामा बिहान सबेरै सवारीको आवाज गुन्जिन थाल्छ । जुम्ला बजारको सडकभरि गाडीहरू लाइनमा उभिएका, यात्रुहरू हातमा झोला बोकेर टिकट खोज्दै दौडिरहेका हुन्छन् । याे आज मात्र नभएर हरेक दिन अहिले जुम्लाको दैनिकी बनेको छ ।

तर बजारको छेउमै, विशाल भवनको गेट अगाडि भने सन्नाटा छ। त्यो हो जुम्ला बसपार्क । सात वर्षअघि लाखौं रुपैयाँ खर्चेर बनेको यो बसपार्क अहिले रित्तो छ । भवनका पर्खाल चिरा परेको छ, झ्यालमा धुलोको तह, वरिपरि झारपातले ढाकेको छ ।
स्थानीय वृद्ध गोवद्र्धन रोकाया गुनासो गर्छन्, हाम्रो बजारमा हरेक बिहान सडक जाम हुन्छ । गाडी सडकमा रोक्छन्, पैदल हिँड्नै गाह्रो छ। तर बसपार्क उता त ताला नै झुण्डिएको छ।
बसपार्क नचल्दा जुम्लाको मुख्य सडक नै पार्किङ स्थल बनेको छ। बिहान देखि साँझसम्म सडकमा गाडीको भीडले पैदल यात्रु र सवारी चालक दुवैका लागि जोखिम बढेको छ ।
ट्राफिक प्रहरी प्रमुख विमल रावत भन्छन्,
हामीले सडकमा पार्किङ नगर्न निर्देशन दिन्छौं। तर चालकहरू अटेरी गर्छन् । बसपार्क चल्यो भने समस्या आधा घट्थ्यो।
जुम्ला बजार साँघुरो छ। सडकमा पार्किङका कारण धेरैपटक एम्बुलेन्स पनि जाममा अड्किने गरेको स्थानीयले उनले बताए ।
जुम्ला बजारका यात्रुहरू अहिले पनि टिकट काट्न बजारभर डुल्न गरेका छन् । कसैको काउन्टर फलाना गल्लीमा, कसैको अर्को कुनामा रहेमा रहेका छन् । यस्तै स्थानीय महिलाले भनिन्, टिकट काट्नका लागि कहिले एयरपोर्ट तिर जानुपर्छ, कहिले बसपार्क तिर । बसपार्क चलेको भए सबै काम एउटै ठाउँमा हुने थियोउनले गुनासो गरिन् ।
वृद्ध, बालबालिका र महिला यात्रुका लागि यो असुविधा झन् बढी छ। हिउँदमा चिसो र गर्मीमा घाम दुबैमा बजारभर डुल्नु परेको उनीहरूको गुनासो छ । अहिले बसपार्कको हालत हेर्ने जो कोहीलाई लाग्छ विकासको योजना मात्रै होइन, यसको नियति पनि अधुरो छ ।
भवनमा टिन चुहिएको, पर्खाल फाटेको, झ्याल भाँचिएको । स्थानीयले गुनासो गर्छन् । अब त यसलाई मर्मत गर्न पनि अर्को बजेट चाहिन्छ । सडकको दुर्गन्ध, बजारको जाम र यात्रुको पीडाबीच यो भवन अविकसित मनोवृत्तिको प्रतीक बनेको छ।
सात वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालनको कुनै निश्चित समय छैन । अदालतको फैसला कहिले आउँछ भन्ने पनि अज्ञात छ। तर नागरिकले भने आशा त्यागेका छैनन् ।
जुम्लामा बसपार्क नचल्नु सानो कुरा होइन । यो सम्पूर्ण शहर व्यवस्थापनसँग जोडिएको मुद्दा हो ।
नगरपालिकाले अब कसले गल्ती गर्यो भन्दा कसरी समाधान निकाल्ने तिर लाग्नु पर्ने हुन्छ ।
चन्दननाथ नगरपालिका जुम्लाले २०७५ सालतिर झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न बसपार्क निर्माण गर्यो । गाडी पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, शौचालय — सबै संरचना तयार गर्याे । उद्घाटनको तयारी पनि भएको थियो। तर त्यो सपना कहिल्यै पूरा हुन सकेन ।
नगरपालिकाले २०७६ साल माघमा बसपार्क सञ्चालनका लागि ठेक्का आह्वान गरेकाे थियाे । ठेक्का राराछायाँनाथ यातायात प्रालि, मुगुले जित्यो र ६ लाख धरौटी समेत बैंकमा राख्यो। त्यसबेला जुम्लावासीले सोचे अब हाम्रो बजार व्यवस्थित हुन्छ ।
तर त्यो आशा अदालतको ढोकामा गएर रोकियो । कर्णाली यातायात प्रालि, जुम्लाले ठेक्का प्रक्रिया पारदर्शी नभएको भन्दै अदालतमा मुद्दा हाल्यो। अदालतले अन्तरिम आदेश समेत दियो मुद्दा टुंगो नलाग्दासम्म बसपार्क सञ्चालन नगर्न आदेश दियाे ।
त्यसपछि समय बित्दै गयो । वर्षौंको बाटो पार भयो, तर मुद्दा अझै पेचिलो रहेकाे छ । यस्तै नगरपालिकाका फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेका अनुसार, भवन डिभिजनले लाखौं खर्चेर बनाएको भवन अहिले जीर्ण रहेकाे बताए ।
उनले भने, व्यवसायीहरू छलफलमा आउँदैनन्, कसैले जिम्मा लिन चाहँदैन । नगरपालिकाले पटक–पटक बसपार्क सञ्चालन गर्न बैठक बोलाए पनि व्यवसायीहरूले कुनै संखेत नदेखाएपछि परिणाम शून्य रहेकाे उनकाे भनाइ छ । कुनै न कुनै बहानामा बैठक बहिस्कार गर्ने, निर्णय अस्वीकार गर्ने प्रवृत्तिले समस्या झन् बल्झिएको प्रमुख न्याैपानेले बताए ।
जुम्लामा अहिले करिब एक दर्जन भन्दा बढी यातायात प्रा.लि सञ्चालनमा छन् । कर्णाली यातायात, तिला कर्णाली, चन्दननाथ, हिल्सा पब्लिक, काँक्रेविहार, देउती बज्जै, भैरवनाथ अटो व्यवसायी संघ, आदि रहेका छन् । तर यी सबैको काउन्टर बजारका कुनाकुनामा छन् ।
व्यवसायी इन्द्र थापा भन्छन्, नगरपालिकाले केही सीमित व्यवसायी सँग मात्र कुरा गर्छ। सबैलाई एउटै टेबलमा ल्याएर निर्णायक छलफल गर्नुपर्छ ।





