जुम्ला । समाजसेवी अमृता कठायत (बस्नेत) द्वारा लेखिएको आत्मकथात्मक कृति ‘कर्णालीकी छोरी : संघर्ष, सेवा र समर्पणको गाथा’ बुधबार जुम्लामा एक विशेष समारोहबीच विमोचन गरिएको छ।
कनिका निशा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य देवेन्द्र बहादुर शाही र चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

वि.सं. २०११ सालमा स्वर्गीय आमा लक्ष्मीदेबि कठायत र बुबा अदन सिंह कठायतको कोखबाट जन्मेकी लेखिका अमृता कठायत (बस्नेत) कर्णालीको शिक्षामुखी र समाजसेवी पहिचान बोकेकी अग्रणी महिला हुन्। उहाँले वि.सं. २०३७ सालमा जुम्ला जस्ता दुर्गम क्षेत्रमा अंग्रेजी माध्यमको शिक्षाको सुरुवात गर्दै कनिका निशा माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो । जसले कर्णालीमा शिक्षा र चेतनाको नयाँ अध्याय लेख्यो
पुस्तकका विशेषता र सन्देश
पुस्तकको आवरणमा परम्परागत निलो साडी र गरिमामय मुद्रामा देखिएकी लेखिका अमृता कठायत (बस्नेत)को तस्वीरले शीर्षक ‘संघर्ष, सेवा र समर्पणको गाथा’ सँग प्रत्यक्ष भावनात्मक सम्बन्ध बोकेको छ।
२ सय ३२ पृष्ठमा फैलिएको यस कृतिमा ४६ वटा अध्यायहरू समेटिएका छन्।
पहिलो खण्डमा लेखिकाले जुम्लाको सभ्यता, संस्कार र सम्भावना, आफ्नै बाल्यकाल र शिक्षाको संघर्ष, र स्त्री जनताको उन्नतिको आवाजलाई प्रस्तुत गरेकी छन् ।
त्यसपछि, उहाँको शिक्षण–यात्रा, विद्यालय स्थापना, महिला सशक्तीकरण, सहकारी आन्दोलनमा सहभागिता र अन्तर्राष्ट्रिय अनुभवहरूलाई क्रमबद्ध रूपमा समेटिएको छ।
पुस्तकका प्रारम्भिक अध्यायहरू “जुम्ला : सभ्यता, संघर्ष र सम्भावनाको भूमि”, “मेरो घर, मेरो जरा”, “स्त्री जनताको एउटै आवाज” कर्णालीको सामाजिक यथार्थ र महिलाको संघर्षको सजीव चित्रण हुन ।
त्यस्तै, “नारी सेवा संघको स्थापना”, “सहकारी समुदाय विकास केन्द्रमा काम गर्दै”, र “चीनमा चौथो विश्व महिला सम्मेलन” जस्ता अध्यायहरूले अमृता कठायत (बस्नेत)को स्थानीयदेखि अन्तर्राष्ट्रिय योगदानको यात्रालाई उजागर गर्छन्।
लेखिकाले आफ्नो जीवनमार्फत “छोरी र महिलाहरूले शिक्षा, आत्मनिर्भरता र नेतृत्व प्राप्त गर्न सक्छन्” भन्ने सशक्त सन्देश दिएको पुस्तकले कर्णालीका नयाँ पुस्ताका युवतीहरूका लागि मार्गदर्शनको काम गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा विद्यालयका सञ्चालक बसन्तसिंह कठायतले भन्नुभयो ,
“दिदी अमृता कठायत (बस्नेत)को लक्ष्य सदैव जुम्लाका बालिका र महिलालाई शिक्षाको उज्यालोमा ल्याउनु थियो। यो पुस्तक त्यही संघर्ष र यात्राको सजीव दस्तावेज हो।”
प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले लेखिकाको योगदानलाई कर्णालीकै गौरवको रूपमा वर्णन गर्दै भने,
“उहाँले शिक्षा मात्र होइन, ज्येष्ठ नागरिक संघको भवन निर्माणदेखि सामुदायिक सेवामा सक्रिय भूमिका खेल्नुभएको छ । यो सामाजिक जिम्मेवारीको उत्कृष्ट उदाहरण हो।”
त्यस्तै, उपप्रमुख रामदेवी खड्काले भनिन
“अमृता कठायत (बस्नेत)को प्रयासले महिलालाई शिक्षित, सचेत र आत्मनिर्भर बन्न प्रेरित गरेको छ। उहाँ वास्तवमै कर्णालीकी छोरी हुनुहुन्छ।”





