जुम्ला । पातारासी ३ चौउर , लगातारको वर्षा र पहिरोका कारण करिब छ महिना देखि अवरुद्ध गाउँको सडक अब पुनः सञ्चालनमा आएको छ। स्थानीय, प्रदेश र संघीय सरकार तथा वडा कार्यालयको बेवास्ताबीच, गाउँका युवाहरूले श्रमदान मार्फत सडक पुनः सञ्चालनमा ल्याएका हुन ।

पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने चौउर गाउँतर्फको सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा र सवारी चालकहरू आवत–जावतमा ठूलो समस्या भोगिरहेका थिए । तर, सरकारी निकायले समस्या समाधानमा चासो नदेखाएपछि युवाहरू आफैं अघि सरेका हुन ।
युवाहरूको सामूहिक श्रमदान
स्थानीय युवा बिकास रावत, अतिराम महतरा, सुकराम रावत र दत्तराज रावतको सयोजनमा गाउँका युवाहरूले सामूहिक श्रमदान गरेर सडक मर्मत कार्य सम्पन्न गरेका हुन । सडकलाई कटान गरेको भागहरमा माटो ढुङ्गा बिछ्याउने लगाएतका काम गर्दै सडक पुनः सञ्चालनमा ल्याएका हुन।
युवाहरूको भनाइ
सडक मर्मतमा सहभागी एक युवाले भने,
“सरकार र जनप्रतिनिधि मौन रहे, तर हामीले एकता र श्रमको बलमा सडक चलायौं ।” हाम्रो सडक अब हामी आफैले बनाउनुपर्छ भन्ने भावनाले हामी एकजुट भयौ ।
युवाहरूका अनुसार, गाउँपालिकाका अध्यक्ष पुनसिंह बोहोरा र वडा अध्यक्ष गोबिन्द रावतलाई बारम्बार समस्याबारे जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएको थियो ।
गाउँमा पुनः गुन्जियो सवारीको आवाज
हाल सडक सञ्चालनमा आएपछि चौउर गाउँका बासिन्दा र सवारी चालकहरू सहज रूपमा आवत–जावत गर्न सक्ने भएका छन । स्थानीयले युवाहरूको यो सामूहिक प्रयासलाई सामुदायिक एकता, स्वावलम्बन र सकारात्मक सोचको उदाहरणका रूपमा लिएका छन ।





