जुम्ला । जुम्ला जिल्लाको सिँजा गाउँपालिकाले सशक्त सुशासन व्यवस्थापन (सुस्वा) मूल्यांकनमा पहिलो स्थान हासिल गर्दै जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल भएको छ।

जिल्लाका सबै स्थानीय तहबीच भएको प्रतिस्पर्धात्मक मूल्यांकनमा सिँजाले सुशासन, सेवा प्रवाह, पारदर्शिता र उत्तरदायित्वका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता पाएको हो।
सुस्वा मूल्यांकन कार्यक्रम अन्तर्गत पालिकाहरूको प्रशासनिक क्षमता, योजना कार्यान्वयन, वित्तीय पारदर्शिता, नागरिक सहभागिता, सूचना प्रवाह र सेवा उपलब्धताको सहजताका आधारमा अंक प्रदान गरिएको थियो।
मूल्यांकनमा सिँजाले सबै सूचकमा सन्तुलित र प्रभावकारी कार्यसम्पादन गर्दै उच्च अंक प्राप्त गरेको जनाइएको छ।
सिँजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार, यो उपलब्धि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको सामूहिक प्रयासको नतिजा हो। “हामीले सुरुदेखि नै पारदर्शी शासन, जिम्मेवार प्रशासन र जनमुखी योजना निर्माणमा जोड दिएका थियौं,” उनले भने, “आजको परिणाम त्यही प्रतिबद्धताको प्रमाण हो।”
पालिकाले योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्मका सबै चरणमा नागरिक सहभागिता सुनिश्चित गर्दै सार्वजनिक सूचना प्रणालीलाई सशक्त बनाएको छ।
सिँजाको यो सफलता केवल एक पालिकाको उपलब्धि मात्र नभई, कर्णाली प्रदेशमा सुशासन र सेवा सुधारको उदाहरणीय मोडेलका रूपमा हेरिएको छ।





