जुम्ला । नेपालमा हाल सक्रिय पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आज (मंगलबार) मौसम बदली भई हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव बढी रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपात हुने सम्भावना रहेको छ भने अन्य पहाडी भूभागका कतिपय स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा दिउँसोदेखि नै बादल बाक्लिने र वर्षा सुरू हुने अनुमान गरिएको छ। त्यस्तै, तराईका केही भाग विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पनि छिटपुट रूपमा हल्का वर्षा हुन सक्नेछ ।
आज राति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा बादल लाग्ने र वर्षा तथा हिमपातको क्रम जारी रहने सम्भावना छ ।
मौसममा आएको यो परिवर्तनले तापक्रममा सामान्य गिरावट ल्याउने भएकाले महाशाखाले सर्वसाधारणलाई तातो कपडा प्रयोग गर्न, यात्रामा सावधानी अपनाउन र आवश्यक सतर्कता राख्न अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ, जसका कारण वायुमण्डलमा नमी बढेर देशका विभिन्न भागमा वर्षा र हिमपातको अवस्था देखिएको हो ।





