प्रपञ्चको प्रत्यन्चा कसेर,
समयको धनुषबाट एउटा बाण छुट्छ,
सत्यको शिरमा घात गर्छ,
र, रक्ताम्य आकाशले
कालो झण्डा फहराउँछ।
त्यो बाण…
विचारको शरीरमा छिरेपछि
रगत होइन, अक्षर बग्छ,
अर्थ होइन, आवरण बग्छ,
मन होइन, मस्तिष्क झरिरहन्छ—
तरल परेको भाष्यको हावाहुरीमा।

प्रपञ्चलाई ,युद्ध चाहिँदैन अब!
छाती चिरेर
राज्य विस्तार गर्ने लोभ छैन अब,
सिमाना तोडेर
नक्सा रंगाउने रहर छैन अब—
अब युद्ध केवल आँखाभित्रको पर्दामा लडिन्छ,
अब विजय केवल कागजमा लेखिन्छ,
अब क्रान्ति केवल रङ्गीन स्क्रीनमा मर्छ।
बजारको रंगीन चस्मा लगाइदिन्छ,
सत्यको परिभाषा फेरिदिन्छ—
हरेक दृश्य कुनै सम्पादकको काठपुतली हुन्छ,
हरेक खबर कुनै दलालको दास हुन्छ,
हरेक आँसु कुनै व्यापारीको वस्तु हुन्छ।
केवल शब्द बदलिन्छ, तर…
शोषण उहीँ छ,
केवल नाम बदलिन्छ, तर…
सत्ताको मुख उहीँ छ,
केवल नारा बदलिन्छ, तर…
निर्दोषको चिहान उहीँ छ।
अब अखबार सत्य होइन,
अब पुस्तक विचार होइन,
अब इतिहास घटनाको संग्रह होइन—
अब सारा अक्षरहरूमाथि
विज्ञापनको छायाँ छ,
अब प्रत्येक तर्कमाथि
नाफाको पर्खाल छ।
साँचो कुरा त बन्दुकले मात्र होइन,
विज्ञापनले पनि मार्छ,
मुठ्ठी मात्र होइन,
फेसबुकको ‘लाइक’ ले पनि शासन गर्छ,
हथकडी मात्र होइन,
‘ट्रेंडिङ’ मा पर्नु पनि जेल सरह हुन्छ।
त्यसैले अब सत्य हाम्रै सामु छ
तर अदृश्य छ,
स्वतन्त्रता हाम्रै हातमा छ
तर जकडिएको छ,
समाचार हाम्रै कानमा छ
तर बहिरो छ।
यसरी नै,
हर एक क्रान्ति एउटा विज्ञापन बन्छ,
हर एक नायक एउटा ट्रेंडिङ ट्याग बन्छ,
हर एक विचार एउटा उत्पादन बन्छ—
र, अन्ततः सारा प्रतिरोध
एउटा ‘ब्रान्ड’ बन्छ।
यसरी,
शब्दहरू हत्या गरिन्छ
तर चिहान छैन,
सत्यहरू गाडिन्छ
तर शव छैन,
स्वतन्त्रता लुटिन्छ
तर लुटेरा छैन।
यो २१औं शताब्दीको युद्ध हो,
जहाँ प्रपञ्च नै हतियार हो।





