जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिरीखोलामा रहेको जाल्पादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले यस वर्षको प्रतिष्ठित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार–२०८२’ प्राप्त गरेकाे छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौंले ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको विस्तार र समुदायमा आधारित विद्युत व्यवस्थापनमा सहकारीको उत्कृष्ट योगदानको उच्च प्रशंसा गर्दै यो सम्मान प्रदान गरेको हो ।
राजधानी काठमाडौंमा आयोजित भव्य समारोहमा जलस्रोत, ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुरस्कार हस्तान्तरण गरेका गिए ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले दाेसल्ला अविरका साथ सम्मान ग्रहण गर्दै भने, यो पुरस्कार हाम्रो यात्राको अन्त्य होइन, नयाँ सुरुवात हो । यसले दुर्गम बस्तीमा समृद्धिको उज्यालो फैलाउने हाम्रो अभियानलाई थप ऊर्जा दिएको बताए ।
पुरस्कार अन्तर्गत मञ्जुका स्मृति अक्षय कोषबाट नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । २०५८ सालमा स्थापना भएको यस सहकारीले जुम्लाको दुर्गम भौगोलिक चुनौतीका बीच पनि स्थानीय स्रोतको प्रयोग मार्फत आत्मनिर्भर ऊर्जा प्रणाली विकास गर्दै आएको छ ।
हाल तातोपानी गाउँपालिकाका १ हजार ८ सयभन्दा बढी घरधुरी यस सहकारीबाट नियमित रूपमा विद्युत् सेवा प्राप्त गर्दै आएका छन् । करिब २०० किलोवाट क्षमताको जलविद्युत आयोजनाबाट सञ्चालित जाल्पादेवी सहकारीले केवल उज्यालो मात्र होइन, गाउँमा शिक्षा, स्वास्थ्य, साना उद्योग र सञ्चारका क्षेत्रमा पनि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार, जाल्पादेवी सहकारीले समुदाय केन्द्रित ऊर्जा व्यवस्थापनको आदर्श नमूना प्रस्तुत गरेको केन्द्रले जनाएको छ । जुम्लाको कठिन भूगोलमा पनि स्थानीय स्रोत, जनसहभागिता र आत्मनिर्भर सोचले ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण यही सहकारी हो।
यस सफलतासँगै गिरीखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारीले जुम्लालाई नवीकरणीय ऊर्जा प्रवर्द्धनको नक्सामा विशेष पहिचान दिलाएको छ। स्थानीयवासीहरूले यो पुरस्कारलाई आफ्नो मेहनत, एकता र भविष्यप्रतिको आशाको प्रतीकका रूपमा स्वागत गरेका छन्।





