जुम्ला । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति जुम्लाको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले बिश्वराज खत्रीको अध्यक्षतामा नयाँ २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ ।
अधिवेशनले त्रिवार्षिक कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै जिल्ला स्तरमा लोक तथा दोहोरी गीत संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितमा काम गर्ने संकल्प व्यक्त गरेको छ ।
नवगठित कार्यसमितिमा अध्यक्षमा विश्वराज खत्री, वरिष्ठ उपाध्यक्षमा पन्चकली बुढा, खुला उपाध्यक्षमा उमेश परियार, द्वितीय उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा एकराज खत्री, सह–सचिवमा मदन महत, कोषाध्यक्षमा देवकी खत्री र सह–कोषाध्यक्ष ज्ञान बहादुर बि.क. चयन भएका छन् ।
यस्तै सदस्यहरूमा अर्जुन परियार, सम्झना कुलाल, सुर्जा रावल, दिया सुनार, धन बहादुर नेपाली, प्रेम अधिकारी, गणेश पण्डित, मेनका महत, कालिका कुलाल, विष्णुमाया गिरी, सोचिता हमाल, सम्झना अधिकारी र सन्ध्या महतारा चयन भएका छन्।
अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाई, प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापा र प्रतिष्ठानकी वरिष्ठ कलाकार हिरा बुढा रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि बुढ्थापाले लोक तथा दोहोरी गीत नेपाली समाजको मौलिक पहिचान भएकाले यसको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, जुम्ला सांस्कृतिक सम्भावनाले भरिएको जिल्ला हो। यहाँका कलाकारहरूको प्रतिभा देशभर फैलिनु जरुरी छ, र यो प्रतिष्ठान त्यसको माध्यम बन्न सक्ने बताए ।
यस्तै नवनिर्वाचित अध्यक्ष बिश्वराज खत्रीले आगामी तीन वर्षभित्र जुम्लाको मौलिक गीत संगीतलाई राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय कलाकारका सिर्जनालाई डिजिटल माध्यममार्फत प्रवर्द्धन गर्ने र नयाँ पुस्तामा लोकसंगीतप्रति आकर्षण बढाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कलाकार, पत्रकार, स्थानीय प्रतिनिधि, समाजसेवी र प्रतिष्ठानका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अधिवेशनको समापन संगै जुम्ला जिल्लामा लोक तथा दोहोरी गीतको क्षेत्रमा नयाँ उर्जा र जोशको संचार भएको सहभागीहरूले बताएका छन् ।





