जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले वर्षभरि सञ्चालन भएका योजना, कार्यक्रम तथा आय–व्ययको विवरण आइतबार सार्वजनिक गरेको हो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले ३८ करोड ४६ लाख रुपैयाँको अनुमानित बजेट ल्याएको थियो। त्यसमध्ये ३५ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भएको र कुल १५८ योजनामध्ये १३५ योजना सम्पन्न भएका छन्। ठेक्का मार्फत सञ्चालन भएका ६ योजनामध्ये गाउँपालिकाको प्रशासकीय भवनको रनिङ बिल मात्र भुक्तानी भएको उनले जानकारी दिए। गाउँपालिकाले सो आवमा २६ लाख ६४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको पनि उनले बताए।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गर्नुभएको थियो। उनले सार्वजनिक सुनुवाइमार्फत उठेका गुनासा र सुझावलाई क्रमशः समाधान गर्दै वडास्तरमा हुने योजना तथा कार्यक्रमको अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए।
गाउँपालिका प्रवक्ता तिर्थ वडका अनुसार, पारदर्शिता र विश्वसनीयता बढाउन सेवा प्रदायक संस्थामार्फत सार्वजनिक सुनुवाइ गराइएको हो।
सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि सहभागी नागरिक, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाबीच सवाल–जवाफ सत्र भएको थियो।
सिंजा गाउँपालिकाले प्रत्येक वर्ष विकास, सुशासन र सेवा प्रवाह सुधारका लागि यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको जनाएको छ। यस वर्षको कार्यक्रमको सहजीकरण तिला मल्टिपर्पोज मिडिया प्रालिले गरेको हो।





