जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँका गाउँमा दाउरा संकलन गर्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया दुर्गा सार्कीको आज दिउँसो करिब १२:३० बजे घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय गाईचौर उधेरी खोला नजिकको भीरबाट सार्की झण्डै २०० मिटर तल खसेकी थिइन् । दाउरा संकलनका लागि सँगै पुगेकी लक्ष्मी कठायतका अनुसार दुर्घटना आफ्नै आँखै अगाडि भएको बताइन् ।
उनले भनिन् , खस्न लागेको देखेर चिच्याएँ, समाउन खोजे तर केही गर्न सकिन । वन क्षेत्रमा दाउरा बटुल्ने क्रममा त्यहाँको भिरालो भू–भागले जोखिम बढाउने गरेको स्थानीयको भनाइ छ ।
घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार प्रयास गरेका थिए तर सार्कीको घटनास्थलकै मृत्यु भइसकेको पुष्टि भएको हो।
दुर्घटनाले गाउँमा शोकमग्न वातावरण छाएको छ। वडा कार्यालयले जोखिमयुक्त स्थानमा दाउरा संकलन गर्दा थप सावधानी अपनाउन आग्रह गरेको छ ।





