विश्वले ‘भूलोकको छत’ भनेर सम्मान गर्ने दिव्य स्थल हो , सुमेरु पर्वत । ब्रह्माले सृष्टिको आरम्भमा मेरु अर्थात् ध्रुव भनेर उल्लेख गरेको यही सुमेरु आर्यावर्तको उत्तरी भागमा अवस्थित छ । यहाँ मध्यान्हका समयमा छायाँ शरीरमा पर्न जान्छ र सूर्यकिरण ९०° कोणमा ठाडो रूपमा लाग्छ। यही ९०° कोणलाई आधार मानेर पूर्व–पश्चिम दिशाको निर्धारण गरिन्छ ।

पृथ्वीको वृत्ताकार ३६०° मध्ये १८०° को भाग भोगोलिक रूपमा भूमध्यरेखा बन्न जान्छ, जसलाई सुमेरु अर्थात् उत्तरी ध्रुव मानिन्छ । यसको ठीक दक्षिण १८०° कोण तल कुमेरु अवस्थित छ । प्राचीन मान्यताअनुसार सुमेरुमा देवताको निवास थियो भने दक्षिण ध्रुव कुमेरुमा राक्षसहरूको वास रहेको उल्लेख पाइन्छ ।
यसले के जनाउँछ भने उत्तरी ध्रुव नै भौतिक जगतको महत्त्वपूर्ण केन्द्रबिन्दु हो । यही सुमेरु पर्वत क्षेत्रमा रहेको मानसखण्ड, हिमशिखर र हिमवस्ती भएको भूभाग नै हिमवत् खण्ड आजको नेपाल रहेको देवभूमि हो । यही आर्यावर्तको उद्गमस्थान मानिन्छ । सुमेरु, शैल वा उत्तरी ध्रुवको माथि ९०° कोणमै ध्रुवतारा अवस्थित छ, जसलाई देवताको शीर्षमाथि निरन्तर प्रकाश दिने दैवी प्रतीक मानिन्छ ।
सुमेरु केन्द्रबाट ६६° भन्दा माथि सूर्यको किरण परे दिन हुन्छ, र ६६° भन्दा तल गए रात पर्दै जान्छ । प्राचीन मान्यानुसार यहींबाट सूर्यउदय र सूर्यास्त दुवै प्रत्यक्ष अवलोकन गर्न सकिने मानिएको छ । पूर्व र पश्चिम बराबर देखिने भएकाले यसलाई भू नभएको समत्व बिन्दुका रूपमा हेरिन्थ्यो ।
सुमेरुको ९०° कोणमै पृथ्वीको अक्षांश देशान्तरको शून्यबिन्दु अवस्थित छ, जसलाई निरक्ष भनिन्थ्यो। यही शून्यरेखालाई क्षितिजवृत पनि भनिन्छ । यस्तै, यस सुमेरुदेखि २४° कोणमा ‘कादम’ नामक तारा रहेको उल्लेख पाइन्छ, जसको कक्ष मार्ग हुँदै चन्द्रमादेखि ग्रहहरू परिक्रमा गर्छन्। यही ग्रहमार्गलाई ‘विमण्डल’ भनिन्थ्यो, जसअनुसार ग्रहहरूले बारीबारी १२ राशी परिक्रमा गर्छन् ।
सृष्टिको प्रारम्भमा उषाले पहिलो स्पर्श गरेको भूमि यही सुमेरु हो ।सृष्टिको उदयस्थल, ब्रह्माद्वारा रचित दिव्य देवभूमि । यसभन्दा तल रहेका मानसखण्ड–हिमश्रृङ्खला, हिमवस्ती भएको भूभागलाई हिमवतखण्ड भनिएको छ। यही हिम–टाकुरा वरिपरि शिवको दृष्टि पर्ने गरी देवीहरू ९ बहिनी कालिका र ९ बहिनी मालिका आसनस्थ छन जस्को रक्षार्थ अन्य देवगण मष्टाहरू तैनाथ रहेको वर्णन पाइन्छ ।
सुमेरु आसपास प्राचीन कालदेखि ऋषिमुनिहरुको तपोभूमि थियो । यही भूमिबाट उत्पन्न भएका ऋषिपुत्रहरू पूर्व–पश्चिम–दक्षिण फैलिँदै गए, जसलाई आर्य भनियो र उनीहरूको वासस्थान आर्यावर्त बन्यो। ऋषि अगस्त्यले आर्यहरूलाई उत्तरबाट दक्षिण विस्तार गरे भने ऋषि गौतमले पूर्वतर्फ विकास गरे। कालान्तरमा आर्यवंश विभिन्न द्वीप र भूभागमा फैलँदै गए ।
यस रहस्यमय भुलोकबारे विश्वका शक्तिहरूले विभिन्न समयमा अनुसन्धान नगरेका होइनन्। ‘विश्वको छत’ स्वीकार भए पनि सुमेरुको वास्तविकता कसैले स्पष्ट रूपमा प्रकट गर्न सकेका छैनन्, र यहाँ मानवीय पाइला कहिल्यै पुग्न नसकेको मानिन्छ। कैयौँ पटक प्रयास भए पनि दैवी शक्तिका कारण असफल भएका कथा–प्रसङ्ग रहँदै आएका छन् ।
यतिबेला यही भूभाग–सुमेरुको रहस्यलाई आफ्नो नियन्त्रणमा लिन विभिन्न शक्तिकेन्द्रहरूको प्रतिस्पर्धा चर्किँदै गएको देखिन्छ, जसको प्रत्यक्ष प्रभाव तिब्बती राजनीति विश्व महाशक्ति खेलको केन्द्रबिन्दुमा परिणत भएको रूपले देखापरेको छ। यो केवल भूराजनीति मात्र होइन, भुलोक र प्राणी जगतको प्राचीन इतिहास बोकेको गुप्त धरोहरमाथिको दाउ पनि हो ।
सुमेरुको मूल फेद नेपाल र कुमाऊँ गढ़वाल क्षेत्रसँग सम्बन्धित भएकाले यही मार्ग हुँदै तिब्बतमा प्रवेश गर्ने चालबाजी चलिरहेको छ। यसकै परिणामस्वरूप नेपाललाई बजारका सामान जस्तै हेरेर विभिन्न शक्ति केन्द्रहरूले आर्थिक, सामाजिक र राजनीतिक लगानीका नाममा आफ्नो प्रभाव बढाउने प्रतिस्पर्धा जारी राखेका छन ।





