जुम्ला । शिखर इन्स्योरेन्स कम्पनी लि. जुम्लाले बिमित स्याउ किसानलाई भुक्तानी वितरणमा दीर्घ समय देखि अवहेलना गर्दै आएको आरोप पछि तातोपानी गाउँपालिकाका किसानहरू अन्ततः संगठित भएका छन् । स्थानीय किसानहरूको भेलाले स्याउ बिमा पीडितहरूको हकहितका लागि १७ सदस्यीय स्याउ बिमा पीडित पहल समिति गठन गरेको छ ।

भेलाले तातोपानी गाउँपालिका–५ का कृषक पदम बहादुर डाँगीलाई संयोजक बनाएको छ । समिति गाउँपालिकाका सबै ७ वडा बाट २–२ जना प्रतिनिधि सहभागी हुने गरी विस्तार गरिएको तातोपानी गाउँपालिका -४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता अमर बहादुर राेकायाले जानकारी दिए ।
उनका अनुसार, किसानहरूले लामो समय देखि रकम दाबी गरे पनि भुक्तानी नपाएका कारण तीब्र असन्तोष व्यक्त गर्दै आएकाे बताए ।
किसानका अनुसार प्रत्येक वर्ष लाखौँ रुपैयाँ खर्च गरेर बगैँचा संरक्षण, मलखाद, औषधि छर्काइ, सिचाइ र श्रम लगानी गरे पनि उत्पादनमा हावाहुरी, हुरीबतास, असिना, रोगव्याधा र प्राकृतिक विपत्तिका कारण ठूलो क्षति भएको छ ।
यस्तो अवस्थामा बिमाले राहत दिने अपेक्षा गरिएको थियो । तर, कम्पनीले वर्षौंदेखि कागज प्रक्रिया बाँकी छ मुख्यालयमा फाइल पुगेको छैन । अर्को चरणमा जान बाँकी छ जस्ता कारण देखाउँदै भुक्तानी रोकिराखेको किसानहरूको गुनासो रहेकाे छ ।
समिति संयोजक डाँगीका अनुसार, हामीलाई अब आश्वासनले पुग्दैन । बिमा शुल्क लिनेलसमयमा द्रुत सेवा, तर क्षति भुक्तानीमा ढिलाइ किसानहरूको सहनशीलतामा खेलवाड भएको बताए ।
अब हामी संगठन मार्फत संयुक्त पहल मार्फत न्याय खोज्नेछौ । तातोपानी गाउँपालिका प्रवक्ता अमरबहादुर रोकायाले पनि किसानको पीडा गम्भीर रूपमा बुझ्न आवश्यक रहेको बताए ।
उनका अनुसार गाउँपालिकाले किसान पक्षमा कागजी प्रक्रिया, प्रमाणीकरण तथा सरोकारवाला निकायमा दवाब सिर्जना गर्ने काममा सहयोग जारी राख्नेछ बताए ।





