मानव सभ्यताको अध्ययन गर्दा मिश्र, बेबिलोन, रोमनजस्ता सभ्यताहरू प्रायः उदाहरणका रूपमा प्रस्तुत गरिन्छन्। मिश्रको सभ्यता पुरातत्वविद्हरूले गरेका अभिलेख, शिलालेख र चित्रात्मक लेखनका कारण अध्ययन गर्न सहज भएको देखिन्छ। बेबिलोन सभ्यता वैज्ञानिक विकास, सिँचाइ प्रणाली र इन्जिनियरिङका दृष्टिले उन्नत रहे पनि कालक्रममा खण्डहरमा सीमित रह्यो।

रोमन सभ्यता राजनीति, कानुन र समानताको उचाइमा पुगे पनि अन्ततः आन्तरिक द्वन्द्व र सत्ता–केन्द्रित प्रवृत्तिका कारण पतनतर्फ गयो। तर यी सबै सभ्यताहरूको विकासलाई पूर्वीय सभ्यता, विशेषतः आर्यावर्तीय सामाजिक, दार्शनिक र वैज्ञानिक विकाससँग तुलना गर्दा ती अपेक्षाकृत पछाडि परेको देखिन्छ।
भारतवर्षमा अंग्रेज शासन प्रारम्भ हुनुअघि नै वैदिक–पौराणिक ग्रन्थहरूको व्याख्यामा आधारित टीकाकरणको परम्परा विकसित भइसकेको थियो। यही क्रममा विभिन्न विद्वानहरूबीच वैचारिक मतभेद उत्पन्न भए।
ती विद्वानहरूले आ–आफ्ना दृष्टिकोण समाजमा प्रचार गरे तापनि सम्पूर्ण शास्त्रीय ज्ञानको समन्वित प्रचार हुन सकेन। यस प्रक्रियामा कुमारिल भट्टाचार्य, शंकराचार्य, श्रीधर, रामानुजाचार्य, माधवाचार्य, सापण्ड, वाचस्पति मिश्र, उदयन, भाष्कराचार्य, जयन्त, विमयान भिक्षु, रघुनाथ आदि महान् विद्वानहरूले वेद र पुराणमाथि टीका लेखे। तर कतिपय शास्त्रहरू उपेक्षित हुन पुगे, जसका कारण ती शास्त्रहरूको सामाजिक महत्व क्रमशः घट्दै गयो।
विशेषतः पुरातात्त्विक शास्त्र, रसायन शास्त्र, भौतिक विज्ञान, न्याय शास्त्र, मनोविज्ञान र नीति शास्त्रजस्ता विषयहरू पर्याप्त रूपमा विकसित हुन सकेनन्। यद्यपि फलित शास्त्र, गणित, दर्शन, तर्क, खगोल, वस्तु शास्त्र, चिकित्सा र सङ्गीतजस्ता शास्त्रहरू प्रयोगमा रहे तापनि भारतवर्षमा बारम्बार भएका राजनीतिक परिवर्तन र विशेषतः इस्लामिक शासनकालमा ती विषयहरूको स्वतन्त्र विकास अवरुद्ध भयो।
सन् १७७१ पछि जब ब्रिटिश शासन संस्थागत रूपमा स्थापित भयो, तब शासन टिकाइराख्न राजनीतिक नियन्त्रण मात्र पर्याप्त नहुने निष्कर्ष निकालियो। त्यसका लागि समाजको आत्मा मानिने कला, साहित्य, संस्कृति र इतिहासलाई कमजोर बनाउनु आवश्यक ठानियो।
परिणामस्वरूप भारतवर्षमा यस्तो नीति अपनाइयो, जसले बाह्य रूपमा हिन्दु समाज कायम राखे पनि भित्री रूपमा सम्पूर्ण सामाजिक संरचनालाई इसाइकरणतर्फ धकेल्यो। हिन्दु ग्रन्थहरूको तोडफोड, इतिहास लुकाउने, मिथ्या इतिहास निर्माण गर्ने र पूर्वीय सभ्यतालाई अवमूल्यन गर्ने योजनाबद्ध प्रयासहरू गरिए।
इतिहासले देखाउँछ इ.पू. ३२३ तिर सिकन्दर महान् विश्व विजयको अभियानमा निस्कँदा उनी केवल सैनिक नेता मात्र थिएनन्, उनी दर्शन, इतिहास, वनस्पति र जीवविज्ञानमा गहिरो रुचि राख्ने विद्वान् पनि थिए। गुरु अरस्तुले १३ देखि १९ वर्षको अवधिमा उनलाई उच्च कोटिको शिक्षाले दीक्षित गरिसकेका थिए।
त्यसैले भारत आक्रमणका क्रममा हालको पाकिस्तानमा रहेको तक्षशिला विश्वविद्यालयको पुस्तकालय सिकन्दरले उपेक्षा गर्न सकेनन्। त्यहाँका बहुमूल्य ग्रन्थहरू युनान पुर्याइए र साथमा ती ग्रन्थको अनुवाद गर्न सक्ने विद्वानहरू पनि लगे। यही कारण सिकन्दरको मृत्युपछि पनि एथेन्समा अरस्तुले स्थापना गरेको शिक्षालयमा सनातनी सभ्यताको ज्ञान सञ्चित रह्यो, जसले पछि युरोपेली पुनर्जागरणलाई गति दियो।
यसको विपरीत, भारतवर्ष र हिमालयको काखमा रहेको नेपालजस्तो समाजमा इतिहासका प्रमाणहरू योजनाबद्ध रूपमा नष्ट गरिए। मुगलकालमा धेरै सम्पदा ध्वस्त पारिए तापनि सबै प्रमाण मेटिन सकेनन्। अकबरका नाति शाहजहाँका छोरा दाराशुकोहले हिन्दु दर्शन अध्ययन गरी फारसीमा अनुवाद गराएका ग्रन्थहरू इस्लामिक मुलुक हुँदै युरोप पुगे। पछि ती ग्रन्थहरू अङ्ग्रेजी र जर्मन भाषामा अनुवाद भए, जसले हेगल, शोपेनहावर र कार्ल मार्क्सजस्ता दार्शनिकहरूको उदयमा अप्रत्यक्ष योगदान पुर्यायो। स्मरणीय छ कार्ल मार्क्स हेगलको दर्शनको प्रतिवादबाटै विकसित भएका विचारक हुन ।
नेपालका कुना–कन्दरामा रहेका पाण्डुलिपिहरू कलकत्तास्थित हिन्दु संस्कृति अध्ययन संस्थानमा पुगेको अनुमान छ, जसमा राणा शासनकालका कर्मचारी र पुरोहितहरूको संलग्नता रहेको विश्वास गरिन्छ। साथै, १६औँ शताब्दीमा तिब्बत हुँदै काठमाडौं प्रवेश गरेका पादरीहरूले दश हजारभन्दा बढी पाण्डुलिपि संकलन गरेको दाबी गरेका छन्।
उनीहरू काठमाडौं, भक्तपुर र ललितपुरका राजाबाट संरक्षण पाउँदै इसाइ धर्म प्रचारमा सक्रिय थिए। राजा प्रताप मल्लले फ्रेन्च भाषा सिकेको उल्लेख यस सन्दर्भमा महत्वपूर्ण मानिन्छ।
पश्चिमी विद्वानहरूले पूर्वीय दर्शन र इतिहास अध्ययन गर्दा विश्वका अधिकांश मौलिक ज्ञान सनातनी ऋषि–मुनिहरूले पहिल्यै प्रतिपादन गरिसकेको तथ्य बुझे। त्यसपछि केही दस्तावेज लुकाइए, केही नष्ट गरिए र बाँकीलाई तोडमोड गरियो। पर्याप्त प्रमाण नष्ट भएपछि आफ्नै अनुकूल इतिहास लेखियो। इसाइ दर्शनअनुसार सृष्टिको उत्पत्ति इ.पू. ४२०० तिर मानिने भएकाले इतिहासलाई त्यसभन्दा पर जान नदिने प्रवृत्ति देखियो। तर आधुनिक वैज्ञानिक अनुसन्धानले ब्रह्माण्डको उत्पत्ति करिब १३.५ अर्ब वर्षअघि, पृथ्वीको उत्पत्ति ४.३ अर्ब वर्षअघि र मानव विकास ७५ हजार वर्षभन्दा पुरानो रहेको स्वीकार गरिसकेको छ।
सनातन दर्शनमा चार युग सत्य, त्रेता, द्वापर र कलियुगको अवधिको गणना यसभन्दा पनि विशाल छ। वेदिक ज्योतिषले सृष्टिको आयु ४३२ करोड वर्ष मानेको छ। तर यी तथ्य पश्चिमी राजनीतिक–सांस्कृतिक संरचनाले सहजै स्वीकार गर्दैन, किनकि उनीहरू आर्थिक, राजनीतिक र ऐतिहासिक वर्चस्व आफूमा केन्द्रित गर्न चाहन्छन्। त्यसैले सनातन इतिहासलाई काल्पनिक ठहर गरिन्छ र सिन्धु सभ्यताभन्दा अगाडिको इतिहासलाई स्वीकार्न अनिच्छा देखाइन्छ ।
यस पृष्ठभूमिमा द्वापर युगको महाभारतकालीन इतिहाससँग तुलना गर्दा नेपाल राष्ट्र, खस राष्ट्र र कुलिन्द राष्ट्रको इतिहास गहिरोसँग अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ।
महाभारत युद्धपूर्व कश्मीरदेखि वर्मासम्म किरात, खस, कुलिन्द र दरदजस्ता राज्यहरूको शासन रहेको प्रमाण पाइन्छ। किरातहरू मानसखण्ड आसपास केन्द्रित थिए भने पछि कुलिन्दहरूले पराजित गरी पूर्वतर्फ शासन विस्तार गरेका देखिन्छन्। महाभारत युद्धमा किरातहरू पाण्डव पक्षमा र खस–कुलिन्दहरू कौरव पक्षमा लडेका उल्लेख छन्। खस राजाले युधिष्ठिरको राजसूय सभामा चमरको पुच्छर र कस्तुरी मृगको छाला उपहार दिएको उल्लेख महाभारतमा पाइन्छ।
यसरी हजारौँ वर्ष पुराना ऐतिहासिक तथ्य, चाडपर्व र सांस्कृतिक परम्परा सनातनी सभ्यताको अमूल्य सम्पत्ति हुन्। यी सम्पदाको संरक्षण हाम्रो कर्तव्य हो। आज पूर्वीय सभ्यता नष्ट गर्न पश्चिमी लगानी र प्रोक्सी समूहहरू सक्रिय छन्। चाडपर्व र संस्कृतिमाथि घृणा फैलाइँदैछ। त्यसैले समयमै यस्ता षड्यन्त्रहरू चिनेर आफ्नो सभ्यता, इतिहास र पहिचान जोगाउनु आजको ऐतिहासिक आवश्यकता हो ।





