जुम्ला । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३३ गण हेड्वाटर त्रिपुरा जुम्लाले जुम्ला बजार क्षेत्रमा पर्ने कृष्ण मन्दिरकाे सरसफाइ गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३३ हेडक्वाटर जुम्लाको आयोजनामा भएको उक्त अभियान बजारको ऐतिहासिक तथा धार्मिक स्थल कृष्ण मन्दिरकाे सरसफाइ गरेकाे हाे ।

जुम्ला बजारको मुख्य क्षेत्र श्रीकृष्ण मन्दिर आसपासबाट सुरु गरिएको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरूको सक्रिय सहभागिता रहेको थियो । निलो क्यामुफ्लाज पोशाकमा सजिएका सशस्त्र प्रहरीका सदस्यहरूले झाडु, डस्टबिन र अन्य सरसफाइ सामग्री प्रयोग गरी सडक, चोक र मन्दिर र सार्वजनिक स्थान सफा गरेका छन् ।
कार्यक्रममा सफा वातावरण, स्वस्थ जीवन भन्ने सन्देश सहित सचेतना जाेगाउन जुम्ला बजार क्षेत्र सरसफाइ गरिएको बताएका छन् । स्थानीय बासिन्दा तथा व्यापारीहरूले सशस्त्र प्रहरीको यस पहलको प्रशंसा गरेका छन् ।
व्यापारी बालकृष्ण बुढाका अनुसार, सुरक्षामा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सशस्त्र प्रहरी सक्रिय देखिनु सकारात्मक सन्देश रहेकाे बताए । उनका अनुसार, बजार सफा हुँदा वातावरण मात्र होइन, नागरिकमा पनि जिम्मेवारीको भावना बढ्ने व्यापारीले बुढाकाे भनाइ छ ।
सशस्त्र प्रहरी बल जुम्लाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले नागरिक सँगको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनीहरूका अनुसार सरसफाइ अभियान नियमित रूपमा सञ्चालन गर्दै समुदायमा सचेतना फैलाउने योजना रहेको छ ।
प्रहरी दिवस, विशेष अवसर तथा सामाजिक अभियानका क्रममा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाइएको छ। बजार क्षेत्र सफा र व्यवस्थित हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सकारात्मक प्रभाव पर्ने स्थानीयको भनाइ छ ।
जुम्ला जस्तो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको जिल्लामा सरसफाइ अभियानले स्वच्छ शहर निर्माण तर्फ महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी बलको यस अभियानले सुरक्षा निकाय केवल कानून कार्यान्वयनमा सीमित नभई समाज निर्माणको महत्वपूर्ण हिस्सेदार भएको सन्देश प्रवाह गरेको छ।





