जुम्ला । हिमाली जिल्ला जुम्ला मौरी पालनका लागि अत्यन्तै उपयुक्त मानिन्छ । स्वच्छ वातावरण, जैविक वनस्पति र मौसमी विविधताले यहाँ उत्पादन हुने मह र मौरीजन्य पदार्थको विशेष पहिचान छ । यही कारण पुर्ख्यौं देखि मौरी पालनलाई जीविकाको आधार बनाउँदै आएका किसानहरूको संख्या पनि उल्लेख्य छ ।

मौरी व्यवसायले कृषकको आयआर्जनमा टेवा मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याउँदै आएको थियो । तर पछिल्लो समय मौरी घारमा फैलिएको अज्ञात रोगले यो व्यवसाय गम्भीर संकटमा परेको छ ।
पातारासी गाउँपालिका–३ का मौरीपालक व्यवसायी गोर बहादुर रावतका अनुसार पछिल्ला केही महिनायता मौरी घारमा देखिएको अज्ञात रोगले व्यवसाय नै धरापमा पारेको छ । करिब १० वर्ष अघि व्यवसाय सुरु गरेका रावतका १८ घार मध्ये हाल जम्मा ८ घारका मौरी मात्र बाँकी छन् ।
पहिले मौरी पहेँलो र स्वस्थ देखिन्थे, अहिले भने कालो हुँदै जान्छन् । चारो नखाने, छट्पटाउने र अन्ततः मर्ने समस्या देखिएको उनले पीडा सुनाए । यो समस्या रावतको घारमा मात्र सीमित छैन । गाउँका अन्य मौरी पालकहरूको घारमा पनि उस्तै लक्षण देखिएको छ ।
सामूहिक रूपमा रोग फैलिँदा किसानहरू चिन्तित बनेका छन् । मौरी मर्दै गए पछि मह उत्पादन घटेको छ भने केही व्यवसायीले घार नै खाली हुन थालेको बताएका छन् ।
यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्ला जिल्लामा हाल करिब ८ सय ५० वटा मौरी घार रहेका छन् ।
लामो समय देखि मौरीमा रोगको संक्रमण देखिएकाले कर्णाली प्रदेश सरकारले विज्ञ टोली जुम्ला पठाइ सकेको र टोलीको प्रतिवेदन आउन बाँकी रहेको उनले जानकारी दिए ।
अधिकारीले हिउँदमा चारोको अभाव हुने भएकाले मौरीलाई कृतिम खाना दिन र परम्परागत घार भन्दा आधुनिक घार प्रयोगमा जोड दिन व्यवसायीलाई आग्रह गरेका छन् ।
यस्तै मौरी महासंघ जुम्ला जिल्लाका अध्यक्ष नारायण चौलागाईंले भने रोगको प्रमुख कारण किसानले बालीमा प्रयोग गर्ने विषादी हुन सक्ने आशंका व्यक्त गरे । अनियन्त्रित विषादी प्रयोगले मौरीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ, उनले भने ।
अध्यक्ष चाैलागाईका अनुसार, आफूले आधुनिक घार प्रयोग गरेकाले समस्या तुलनात्मक रूपमा कम हुँदै गएको उनको अनुभव छ । मौरी व्यवसाय संकटमा परे पछि किसानको आम्दानी मात्र होइन, कृषि उत्पादनको परागसेचन प्रक्रिया पनि प्रभावित हुने खतरा बढेको बताए ।
विज्ञको प्रतिवेदन र तत्काल प्रभावकारी उपचार नआए मौरी पालन व्यवसाय जुम्लामा लोप हुने जोखिम बढ्दै गएको व्यवसायीहरू बताउँछन् । अब आवश्यक छ, समयमै रोगको पहिचान, वैज्ञानिक उपचार र किसानलाई प्राविधिक सहयोग । नत्र हिमाली महको पहिचान नै संकटमा पर्ने संकेत देखिन थालेको छ ।





