जुम्ला । हिमा गाउँपालिका–५ बुअ गाउँमा विद्युत् सट भएर भएको आगलागीबाट पीडित बनेको एक परिवारलाई हिमा गाउँपालिकाले तत्काल राहत सहयोग प्रदान गरेको छ । पुस २१ गते आगलागीका कारण स्थानीय नन्द बहादुर शाहीको घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ठूलो धनजनको क्षति भएको थियो ।

अचानक भएको यो घटनाले परिवारलाई बासविहीन बनाउँदै दैनिक जीवनयापनमै गम्भीर असर पुर्याएको छ ।
आगलागी पिडित परिवार लाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही स्वयं पीडित परिवारको घरमा पुगेर राहत सामग्री वितरण गरेका छन् ।
गाउँपालिकाको तर्फबाट खाद्यान्न सामग्री, लत्ताकपडा तथा भाँडाकुँडा वितरण गर्दै अध्यक्ष शाहीले पीडित परिवारलाई सान्त्वना दिएका छन् । उनले यस्तो विपद्को घडीमा स्थानीय सरकार पीडितको साथमा उभिनु आफ्नो दायित्व भएको स्पष्ट पारे ।
यस्तो अवस्थामा हामीले सहयोग नगरे कसले गर्छ ? स्थानीय सरकार जनताकै लागि हो,अध्यक्ष शाहीले भने, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता रहेकाे अध्यक्ष शाहीकाे भनाइ छ ।
उनले भने, आगलागी बाट भएको क्षतिको यथार्थ मूल्यांकन गरी थप सहयोगका लागि पहल गरिने समेत जानकारी दिए ।
स्थानीयवासीका अनुसार विद्युत् तार सट भएर आगो सल्किँदा केही समयमै घर पूरै जलेर नष्ट भएको थियो ।
आगलागी नियन्त्रणमा लिने प्रयास भए पनि दुर्गम बस्ती र आवश्यक साधनको अभावका कारण ठूलो क्षति हुन पुगेको उनीहरूको भनाइ छ । गाउँपालिकाले प्रारम्भिक राहत उपलब्ध गराइसकेको छ ।
यस घटनाले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाको महत्व झनै उजागर गरेको स्थानीयको भनाइ छ । आगलागी पीडित परिवारले गाउँपालिका बाट प्राप्त सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यस्तो कठिन घडीमा साथ पाउँदा केही राहत महसुस भएको बताएका छन् ।





