जुम्ला । सिंजा गाउँपालिकाले इन्धनको मूल्यवृद्धिलाई देखाउँदै आफ्ना जनप्रतिनिधि र कर्मचारी माथि कडाइ सुरु गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, नराकोटबाट जारी गरिएको एक सूचनाले सरकारी सवारी साधनको प्रयोगमा कडा भन्दा कडा नियन्त्रण घोषणा गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको पत्रमा हाल इन्धनको मूल्य निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सवारी प्रयोग पूर्ण रूपमा रोक्न निर्देशन दिएको छ ।
अझ रोचक त के छ भने, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिइएको सन्दर्भलाई समेत जोड्दै गाउँपालिकाले आफ्नो खर्च कटौती अभियानलाई थप कडाइका साथ अघि बढाएको देखिन्छ ।
सूचना अनुसार अब जनप्रतिनिधि र कर्मचारीले अत्यावश्यक र आधिकारिक काम बाहेक सवारी साधन प्रयोग गर्न नपाउने निर्णय भएको सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।
उनका अनुसार, सवारी प्रयोग गर्नु अघि अनिवार्य रूपमा शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको बताए । अन्यथा, मनपरी रूपमा सवारी चलाएको पाइएमा कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।
अध्यक्ष धितालले भने, गाउँपालिकाभित्रै सवारी दुरुपयोगका गुनासा बढ्दै गएको सन्दर्भमा आएको यो निर्णयले अब कर्मचारी र जनप्रतिनिधि दुवैलाई लाइनमा ल्याउने संकेत गरेको छ ।
अनावश्यक कामका लागि सवारी प्रयोग नगर्नु भन्ने स्पष्ट निर्देशनले विगतमा भइरहेको सवारी दुरुपयोग तर्फ औला ठड्याएको छ। स्रोत साधन सीमित भएको भन्दै कार्यालयले मितव्ययिता अपनाउनुपर्ने बाध्यता रहेको जनाएको छ ।
सिंजा गाउँपालिकाको यो कदमले स्थानीय तहभित्रको खर्च नियन्त्रण र अनुशासन कायम गर्ने बहसलाई पुनः चर्काएको छ। अब हेर्न बाँकी छ, निर्देशन कडाइका साथ लागू हुन्छ कि पुरानै शैलीमा कागजी कारबाहीमै सीमित रहन्छ ।





