जुम्ला । नेपाली कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा प्रवेश गरेका छन् । बिहीबार गाउँपालिकामा आयोजित विशेष भेला मार्फत उनले रास्वपा रोजेको सार्वजनिक घोषणा गरेका हुन् ।

रास्वपा प्रवेश सँगै अध्यक्ष बुढाले आफू संविधान अनुसार जनताबाट निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै दल परिवर्तनले आफ्नो पदमा कुनै असर नपर्ने दाबी गरे ।
उनले भने, “म जनताको मतबाट निर्वाचित भएको हुँ । संविधानले दिएको अधिकार अनुसार राजनीतिक विचार र पार्टी रोज्ने स्वतन्त्रता सबैलाई छ । मेरो पद कसैले खोस्न सक्दैन ।” अध्यक्ष बुढाको यो अभिव्यक्तिलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यस्तै गुठीचौर गाउँपालिका वडा नं ३ का स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष इन्द्र बुढाले पनि रास्वपामा प्रवेश गरेका छन । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका उनी पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तितर्फ खुलेका थिए ।
अध्यक्ष, वडाध्यक्ष सहित विभिन्न दल निकट दर्जनौं नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेपछि जुम्लाको राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
स्थानीय तहमा पुराना राजनीतिक दल प्रति बढ्दो असन्तुष्टि र नयाँ शक्तिप्रतिको आकर्षण बीच भएको यो प्रवेशलाई कर्णाली प्रदेशमै रास्वपाको प्रभाव विस्तारको संकेतका रूपमा समेत हेरिएको छ ।





