काठमाडौँ । विश्व वातावरण दिवसको अवसर पारेर राजधानीमा एक दिने ‘युवा, लैङ्गिक समानता तथा जलवायु न्याय’ विषयक ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालको संयोजन तथा एक्सनएड नेपाल, महिला एकता समाज, नाफान, ग्लोबल पिस फाउन्डेसन, इन्टरनेसनल युथ सोसाइटी लगायतका संघसंस्थाहरूको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणीय मन्त्री गीता चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए तापनि यसको गम्भीर असरबाट नेपाल सबैभन्दा बढी पीडित भइरहेको बताउनुभयो । जलवायु संकटको सामना गर्न नेपाल सरकारले स्पष्ट नीति, कार्यक्रम र योजनासहित अनुकूलन तथा न्यूनीकरणका कार्यहरूलाई तीव्रता दिइरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री चौधरीले जलवायु आन्दोलनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकतामाथि जोड दिँदै सम्मेलनबाट निस्कने निष्कर्ष र सुझावहरूलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित माननीय सांसद कमल सुवेदी, माननीय सांसद लक्ष्मीप्रसाद पोखरेल र अधिकारकर्मी रेनु श्रेष्ठले नेपालमा जलवायु न्यायको आवश्यकता तथा युवाको भूमिका औँल्याउनुभएको थियो।
सीमान्तकृत समुदाय बढी जोखिममा, बजारमुखी समाधानप्रति आशंका
देशभरका २०० भन्दा बढी युवाहरूको सहभागिता रहेको उक्त सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव, बजार प्रवर्द्धित समाधानका उपायहरू, युवाको भूमिका, तथा नेपालमा पर्यावरणीय लोकतन्त्रका सम्भावना र चुनौतीका विषयहरूमा सघन प्यानल छलफलहरू सञ्चालन गरिएका थिए।
छलफलका क्रममा वक्ता तथा सहभागीहरूले जलवायु संकटले सबै वर्गलाई असर गरे तापनि समाजमा ऐतिहासिक रूपमा पछाडि पारिएका महिला, दलित, जनजाति, आदिवासी, अपाङ्गता भएका व्यक्ति, मधेसी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र गरिबीको रेखामुनि रहेका समुदायहरू यसबाट सबैभन्दा बढी प्रभावित र जोखिममा परेको तथ्य औँल्याएका थिए।
प्यानल सत्रका छलफलहरूमा सहभागीहरूले हाल विश्व बजारले अघि सारेका कार्बन व्यापार र कार्बन कर जस्ता बजारमुखी एवं प्राविधिक उपायहरूले मात्रै जलवायु परिवर्तनको वास्तविक र दीर्घकालीन समाधान गर्न नसक्ने निष्कर्ष निकालेका थिए। वर्तमान नवउदारवादी पुँजीवादी प्रणालीले केवल निरन्तर नाफा र कुल गार्हस्थ्य उत्पादनको वृद्धिलाई मात्र केन्द्रित गर्ने भएकाले यसले प्राकृतिक स्रोतको दोहनलाई प्रश्रय दिएको टिप्पणी गरेका थिए। संकटको दिगो समाधानका लागि अब प्रचलित बजारमुखी ढाँचाको सट्टा मानव र प्रकृतिमैत्री अर्थतन्त्रको वैकल्पिक मोडेल अवलम्बन गर्नुपर्ने जोडदार माग सम्मेलनले गरेको थियो।
सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी कथाको साटासाट तथा नाटक पनि प्रदर्शन गरिएको थियो।






