जुम्ला । कर्णाली राजमार्गको धुलाम्मे बाटोमा हर्न बजाउँदै बिस्तारै उकालो चढ्ने ती पुराना टाटा बसहरू आज पनि धेरैको स्मृतिमा ताजा छन्। बसको अगाडिको विन्डस्क्रिनमा रातो अक्षरले लेखिएका भगवानका नाम, झ्याल बाट भित्र पस्ने धुलो, इन्जिनको कर्कश आवाज र यात्रुहरूको मनभित्र लुकेको गन्तव्य पुग्ने आशा यी सबै मिलेर कर्णाली यात्राको एउटा छुट्टै संसार बनाउँथे ।

कुनै समय कर्णाली भित्रिने र बाहिरिने प्रमुख माध्यम नै यिनै बसहरू थिए। सडक कच्ची थियो, यात्रा कठिन थियो, तर मानिसहरूको भरोसा बलियो थियो । बिहान घरबाट निस्किएका यात्रु साँझ गन्तव्य पुग्लान् कि नपुग्लान् भन्ने निश्चित हुँदैनथ्यो ।
तर पनि उनीहरू यात्रामा निस्कन्थे, किनभने विकल्प थिएन। कर्णालीका गाउँ र सहर जोड्ने जीवनरेखा नै ती पुराना बसहरू थिए।
ती बसहरूले केवल यात्रु मात्र बोकेनन्, एउटा पुस्ताको सपना, संघर्ष, पीडा र आशा पनि बोके।
कसैले उपचारका लागि नेपालगन्जको बाटो समात्थ्यो, कसैले छोराछोरीको पढाइका लागि शहरतिर यात्रा गर्थ्यो। कोही रोजगारीको खोजीमा निस्कन्थ्यो भने कोही वर्षौंपछि घर फर्कने उत्साहमा हुन्थ्यो। ती बसका प्रत्येक सिटमा एउटा कथा हुन्थ्यो, प्रत्येक यात्रुका आँखामा एउटा सपना ।
समयसँगै धेरै कुरा फेरिए। कर्णालीका सडकमा अहिले फोर्स, एसएमएल लगायतका नयाँ गाडीहरू कुदिरहेका छन्। देशका अन्य राजमार्गहरूमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ। आधुनिक प्रविधिले यातायातलाई छिटो, सहज र आरामदायी बनाउँदै लगेको छ। संसार अगाडि बढिरहेको छ। तर प्रश्न उठ्छ—के कर्णाली पनि त्यही गतिमा अघि बढिरहेको छ ?
दुःखको कुरा, आज पनि कर्णालीका धेरै सडकहरूमा यात्रा गर्नु भनेको जोखिमसँग सम्झौता गर्नु जस्तै छ। कतिपय स्थानमा सडकको अवस्था यति कमजोर छ कि दिउँसै रात परेझैँ अन्धकार र असुरक्षाको अनुभूति हुन्छ।
वर्षायाममा पहिरो, हिउँदमा धुलो र वर्षभरि दुर्घटनाको त्रासले यात्रुहरूलाई सताइरहन्छ। यात्रा सुरु गर्दा धेरैले आज पनि भगवानलाई सम्झिन्छन्, सुरक्षित रूपमा घर पुग्न प्रार्थना गर्छन्।
हरेक वर्ष राज्यले सडक सुधारका लागि बजेट छुट्याएको घोषणा गर्छ।
विकासका योजना सार्वजनिक हुन्छन्। सडक स्तरोन्नतिका कुरा गरिन्छन्। तर कर्णालीका नागरिकले अपेक्षा गरेको परिवर्तन भने अझै पूर्ण रूपमा देख्न पाएका छैनन्। बजेट कहाँ खर्च हुन्छ, काम कति प्रभावकारी हुन्छ र किन अपेक्षित परिणाम आउँदैन भन्ने प्रश्नहरू आज पनि अनुत्तरित छन्।
यात्रा सहज र सुरक्षित बनाउने जिम्मेवारी राज्यको हो। नागरिकले आधुनिक सडक, भरपर्दो यातायात र सुरक्षित यात्राको अधिकार राख्छन्। तर कर्णालीका धेरै नागरिक अझै पनि जोखिमपूर्ण सडकमा यात्रा गर्न बाध्य छन्। विकासको चर्चा धेरै हुन्छ, तर त्यो विकासको अनुभूति गाउँका सर्वसाधारणले कहिले गर्ने भन्ने प्रश्न झन् गम्भीर बन्दै गएको छ।
यद्यपि समयले ती पुराना टाटा बसहरूलाई विस्तारै इतिहास बनाउँदै लगेको छ। आज ती बसहरू कम देखिन्छन्। तर तिनले बोकेको सम्झना, संघर्ष र आत्मीयता भने अझै जीवित छ। कर्णालीका हजारौँ परिवारका जीवनसँग जोडिएका ती बसहरू केवल सवारीसाधन थिएनन्, एउटा युगका साक्षी थिए।
समय साँच्चै छिटो बदलिन्छ। गाडी फेरिन्छन्, प्रविधि फेरिन्छ, सडकका नाम फेरिन्छन्। तर कर्णालीका नागरिकको चाहना भने उही छ—सुरक्षित यात्रा, सहज पहुँच र सम्मानजनक जीवन। गन्तव्य आज पनि उही छ, तर त्यो गन्तव्यसम्म पुग्ने बाटो अझै अधुरो छ।
सायद कुनै दिन कर्णालीका सडकहरू साँच्चिकै सुरक्षित र व्यवस्थित हुनेछन्। यात्रुहरूले भगवानलाई सम्झेर होइन, राज्यप्रतिको विश्वास बोकेर यात्रा गर्नेछन्।
त्यो दिन पुराना बसहरूको सम्झना इतिहासका पानामा सीमित हुनेछ, तर तिनले बोकेको संघर्ष र धैर्यको कथा भने कर्णालीको पहिचान बनेर सधैँ जीवित रहनेछ।





