जुम्ला । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा जुम्लाको छैटौं जिल्ला साधारणसभाले नयाँ नेतृत्व चयन गरेकाे छ। आइतबार सम्पन्न छैटौं साधारणसभाले टेकबहादुर रावतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

महासंघका अनुसार नवगठित कार्यसमितिको उपाध्यक्षमा भरत नेपाली, सचिवमा लोकेन्द्र न्यौपाने, कोषाध्यक्षमा मुनि प्रसाद न्यौपाने चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा कमल महत, उत्तम श्रेष्ठ लगायत गरी सात सदस्यीय जिल्ला पदाधिकारी समिति गठन गरिएको जनाइएको छ ।
साधारणसभामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको भूमिका, सामाजिक विकासमा उनीहरूको योगदान, सुशासन, पारदर्शिता तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको छ ।
सहभागीहरूले गैरसरकारी संस्थाहरूबीच आपसी समन्वय, सहकार्य र साझा मुद्दामा एकीकृत रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
नवनिर्वाचित अध्यक्ष टेक बहादुर रावतले महासंघलाई थप सक्रिय, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा विकासका सवालमा साझा आवाज उठाउन महासंघले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
गैरसरकारी संस्थाहरूलाई एकीकृत गर्दै सामाजिक विकास, सुशासन र नागरिकका सरोकारका विषयमा प्रभावकारी ढंगले काम गर्ने हाम्रो प्राथमिकता हुने अध्यक्ष रावतले बताए ।
उनले संस्थाहरूबीचको सहकार्यलाई अझ बलियो बनाउँदै विकास निर्माण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा महासंघलाई सक्रिय बनाइने जानकारी दिए ।
नयाँ कार्यसमिति चयन भएसँगै महासंघले आगामी कार्ययोजना तयार गरी जिल्ला भित्र कार्यरत गैरसरकारी संस्थाहरूलाई थप व्यवस्थित र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
निवर्तमान अध्यक्ष अमर बहादुर रोकायाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सदस्य संस्था, साझेदार निकाय तथा सरोकारवाला प्रति आभार व्यक्त गरे ।
उनले महासंघले जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूलाई एउटै साझा मञ्चमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी नेतृत्वले संस्थागत एकता, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
महासंघ भनेको सबै गैरसरकारी संस्थाहरूको साझा छाता संगठन हो । यसलाई अझ प्रभावकारी र सशक्त बनाउने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको रोकायाले बताए ।





