नेपालमा पछिल्लो समय सामाजिक सद्भाव, सकारात्मक सोच र रचनात्मक दृष्टिकोणको आवश्यकता झन् बढ्दै गएको सन्दर्भमा नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल (NAINN) ले देशव्यापी रूपमा सकारात्मक सोच विस्तारको अभियान सञ्चालन गरिरहेको छ। यही अभियान, यसको दर्शन, उद्देश्य तथा हालै चितवनको चेपाङ बस्तीमा सम्पन्न नवौँ राष्ट्रिय भेलाका विषयमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्ष घनश्याम कोइरालासँग गरिएको संवादको सम्पादित अंश:

प्रश्न : नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल भनेको कस्तो संस्था हो ? यसको स्थापना कहिले भएको हो ?
घनश्याम कोइराला : नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल एक साझा सामाजिक अभियान हो, जसले सकारात्मक सोच, रचनात्मक दृष्टिकोण र सामाजिक सद्भावको प्रवर्द्धन गर्ने उद्देश्य राख्छ । यसको स्थापना वि.सं. २०६० सालमा भएको हो । हामी विश्वास गर्छौं कि समाज परिवर्तनको आधार सोच र दृष्टिकोण नै हो ।
प्रश्न : सञ्जालले हालसम्म गरेका प्रमुख गतिविधिहरू के-के हुन् ?
घनश्याम कोइराला : यसअघि भक्तपुर, पोखरा, विराटनगर, तानसेन, लुम्बिनी, धनगढी र दाङमा राष्ट्रिय भेला सम्पन्न भएका थिए । हालै जेठ २३–२४, २०८३ मा चितवन जिल्लाको चेपाङबस्ती तीनदोभानमा नवौं राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न गरेका छौं ।
प्रश्न : ‘प्रशंसनीय दृष्टिकोण’ भन्नाले के बुझ्नुहुन्छ ?
घनश्याम कोइराला : हाम्रो ठम्याइमा सबैभन्दा महत्वपूर्ण कुरा सोच र दृष्टिकोण हो । दृष्टिकोण प्रशंसनीय नभए सम्म कुनै पनि कुरा राम्रो देखिँदैन । यदि हामीले सबै कुरा बिग्रिएको, भत्किएको र खत्तम भएको कोणबाट मात्रै हेर्ने हो भने निराशा र वितृष्णा मात्र बढ्छ । अन्धकार र असफलता खोज्दै हिँड्ने हो भने त्यही मात्र देखिन्छ। त्यसैले हामी भन्छौं – जस्तो सोच, त्यस्तै विचार; जस्तो विचार, त्यस्तै व्यवहार; जस्तो व्यवहार, त्यस्तै परिणाम; जस्तो परिणाम, त्यस्तै प्रभाव; र जस्तो प्रभाव, त्यस्तै परिवर्तन वा रूपान्तरण ।
प्रश्न : तपाईंहरूको अभियानको मूल उद्देश्य के हो ?
घनश्याम कोइराला : हामी उन्नति, प्रगति, समृद्धि, सुख र शान्तिको पक्षमा छौं । त्यसैले आफूमा, अरूमा र प्रकृतिमा रहेका सकारात्मक पक्षहरू पहिचान गरी तिनलाई बढाउने र विस्तार गर्ने प्रयास गर्छौं । कुनै पनि कुरा शून्यबाट सुरु हुँदैन । केही न केही राम्रो पक्ष अवश्य हुन्छ, त्यसैलाई बलियो बनाउनु हाम्रो उद्देश्य हो ।
प्रश्न : तपाईंहरूले सकारात्मक सोचलाई कसरी व्याख्या गर्नुहुन्छ ?
घनश्याम कोइराला : संस्कृतको एउटा प्रसिद्ध श्लोक छ—
“जलबिन्दुनिपातेन क्रमशः पूर्यते घटः ।
स हेतुः सर्वविद्यानां धर्मस्य च धनस्य च ॥”
अर्थात् जसरी पानीका थोपा–थोपा परेर घडा भरिन्छ, त्यसरी नै विद्या, धर्म र धन पनि साना–साना प्रयास र सञ्चयबाट वृद्धि हुन्छन्। हामी पनि यही विश्वासका साथ सकारात्मक सोच विस्तार अभियान अघि बढाइरहेका छौं ।
प्रश्न : केही वर्ष अभियानको गतिविधि कम देखिनुको कारण के थियो ?
घनश्याम कोइराला : २०७० साल सम्म हामी संस्थागत रूपमा निकै सक्रिय थियौं । त्यसपछि अभियानका धेरै सारथिहरू विभिन्न जिम्मेवारीमा व्यस्त हुनुपर्यो । त्यतिबेला देश संविधान निर्माण र नयाँ राजनीतिक व्यवस्थाको बहसमा केन्द्रित थियो । जनअधिकार, कर्तव्य, संघीयता र संघीयता व्यवस्थापन जस्ता विषयले समाजलाई व्यस्त बनाएको थियो । त्यसैले हाम्रो संस्थागत गतिविधि स्थूल रूपमा कम देखिए पनि सम्पर्क, समन्वय र सक्रियता भने निरन्तर कायम थियो ।
प्रश्न : के यो अभियान कुनै राजनीतिक दलसँग सम्बन्धित छ ?
घनश्याम कोइराला : बिल्कुल छैन। यो कुनै दल विशेषको समर्थक वा विरोधी अभियान होइन । राजनीति र समाज एकअर्कामा प्रभाव पार्ने विषय हुन्। राजनीति राम्रो हुँदा समाज सभ्य र सुसंस्कृत हुन्छ, समाज सभ्य हुँदा राजनीति पनि परिष्कृत बन्छ । हामी सबै राजनीतिक शक्तिका असल पक्ष ग्रहण गर्छौं तर कसैका कमजोरी खोज्दै हिँड्दैनौं ।
प्रश्न : वर्तमान सामाजिक वातावरणलाई कसरी हेर्नुहुन्छ ?
घनश्याम कोइराला : पछिल्लो समय सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म गालीगलौज, निन्दा, भर्त्सना र संवेदनाशून्य अभिव्यक्तिहरू बढेका छन्। यो अत्यन्त दुःखद अवस्था हो। सकारात्मक सोच र सम्मानजनक संवादको संस्कृति कमजोर हुँदा यस्ता प्रवृत्तिहरू बढ्छन् । त्यसैले हाम्रो अभियानको आवश्यकता अझ बढेको छ।
प्रश्न : राजनीतिक दलहरूलाई तपाईंको सन्देश के छ ?
घनश्याम कोइराला : म राजनीतिक दलहरूलाई एउटा कुरा आग्रह गर्न चाहन्छु । प्रतिस्पर्धा र प्रतिशोधलाई एउटै डालोमा नराख्नुस्, प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो तर प्रतिशोध समाज र राष्ट्रका लागि घातक हुन्छ ।
प्रश्न : चेपाङबस्तीमै राष्ट्रिय भेला आयोजना गर्नुको विशेष कारण के थियो ?
घनश्याम कोइराला : नेपाल विविधताले भरिएको सुन्दर फूलबारी हो । चेपाङ समुदाय पनि नेपाली समाजको एउटा विशिष्ट र सुन्दर फूल हो। यो समुदाय प्रकृतिसँग घनिष्ठ सम्बन्ध राख्ने, जडीबुटी र प्राकृतिक उपचारको ज्ञान बोकेको, श्रुति–स्मृति परम्परा जोगाएको तथा कठिन परिस्थितिमा पनि जीवनप्रति आशावादी रहने समुदाय हो । हामीले चेपाङ समुदायलाई नजिकबाट बुझ्ने, सम्मान गर्ने र उनीहरूको पहिचान तथा सम्भावनालाई उजागर गर्ने उद्देश्यले चेपाङ बस्तीमा कार्यक्रम आयोजना गरेका हौं ।
प्रश्न : चेपाङ समुदायको विकासका लागि के गर्नुपर्ला ?
घनश्याम कोइराला : स्थानीय र प्रदेश सरकारले केही सहयोग र सहकार्य गरेमा चेपाङ समुदायले चितवनको समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ। हामी अध्ययन, सहजीकरण, संवाद र जनचेतनाको काम गर्न सक्छौं तर आवश्यक स्रोतसाधन त सरकारकै हातमा हुन्छ । त्यसैले राज्यको सहयोग अपरिहार्य छ ।
प्रश्न : सञ्जालको संगठनात्मक संरचना कस्तो छ ?
घनश्याम कोइराला : यो मूलतः साझा र अनौपचारिक अभियान हो । अध्ययन, संवाद, दस्तावेजीकरण र अवधारणागत सहजीकरणलाई व्यवस्थित गर्न संस्थागत स्वरूप दिइएको हो । यसको परम्परागत शाखा संरचना छैन । यहाँ नियन्त्रक र नियन्त्रितको सम्बन्ध पनि हुँदैन। विषय प्रधान र दृष्टिकोण प्रधान अभियान भएकाले आबद्ध संस्थाहरू स्वायत्तताको सिद्धान्त अनुसार सञ्चालन हुन्छन् ।
प्रश्न : अन्त्यमा, सञ्जालको मूल दर्शन के हो ?
घनश्याम कोइराला : हामी समतलीयता र अन्तर्निर्भरतामा विश्वास गर्छौं। स्वीकार गर्छौं, सम्मान गर्छौं, विश्वास गर्छौं । अस्वीकार, अपमान र अविश्वासको संस्कृतिलाई होइन, सहकार्य, सद्भाव र सकारात्मकताको संस्कृतिलाई अघि बढाउन चाहन्छौं। सकारात्मकता जीवनदायी हो, नकारात्मकता मरणशीलता हो । हामी जीवन रोज्छौं, आशा रोज्छौं र उज्यालो सम्भावनाको पक्षमा उभिन्छौं।





