सिरहा— सिरहाको गोलबजार क्षेत्रमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। कर्फ्यू जारी रहेका बेला भएको प्रदर्शनका क्रममा करिब १८–१९ वर्षीय गणेश यादवको मृत्यु भएको हो।

मृतक गणेश यादव सिरहाको मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका निवासी रहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।
घटनापछि प्रदर्शनकारीहरूले प्रहरीले गोली चलाएको आरोप लगाएका छन्। तर प्रहरीले भने गोली नचलाएको दाबी गर्दै भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरिएको जनाएको छ।
प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउनसमेत दिएका छैनन्।
प्रहरीका अनुसार घटनाका क्रममा एक जना घाइते भएका छन्। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





