मुगु । मुगु जिल्ला प्रशासन कार्यालय अगाडिको अव्यवस्था हट्न नसक्दा स्थानीयको आक्रोश, “सदरमुकामकै यस्तो अवस्था भए गाउँको अवस्था कस्तो होला ?”

मुगु जिल्लाको सदरमुकामभित्र खानेपानी आयोजनाका पाइप दुई वर्ष बितिसक्दा पनि सडक किनारमै अलपत्र अवस्थामा छोडिएका छन। जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्रमा जथाभावी छरिएका पाइपले सडक अस्तव्यस्त मात्र बनाएको छैन, दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको भनाइ छ।
स्थानीय धनकृष्ण बडुवालका अनुसार यस विषयमा पटक–पटक सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै सुधार भएको छैन। सदरमुकामकै मुख्य स्थानमा यस्तो लापरवाही देखिँदा सम्बन्धित निकायको जिम्मेवारीमाथि प्रश्न उठेको उनले बताए।
स्थानीयवासीको गुनासो छ, “जिल्ला प्रशासन कार्यालय अगाडिको यस्तो अवस्था सुधार हुन नसके अन्य स्थानको अवस्था कस्तो होला?” उनीहरूले स्थानीय सरकार, खानेपानी सम्बन्धी निकाय तथा सरोकारवाला कार्यालयलाई तत्काल पाइप व्यवस्थापन गरी सडक सुरक्षित बनाउन माग गरेका छन्।
तस्बिरमा देखिएझैँ सडक किनारमा जथाभावी लगिएका पाइपले पैदलयात्री र सवारीसाधन दुवैलाई असहज बनाएको छ। सम्बन्धित निकायले यस विषयमा शीघ्र ध्यान दिएर समस्या समाधान गर्न स्थानीयले आग्रह गरेका छन्।






