जुम्ला । लगातार चार–पाँच दिनदेखि परेको अविरल वर्षाले जुम्लाको तातोपानी गाउँपालिकामा दुई परिवारको घर भत्किँदा उनीहरू घरविहीन बनेका छन् ।

प्राकृतिक विपत्तिले एकाएक घरमा क्षति पुर्याएपछि स्थानीयवासी त्रासपूर्ण अवस्थामा पुगेका छन् भने सुरक्षाकर्मी र स्थानीय सरकारको सक्रियताले तत्काल उद्धार तथा राहत उपलब्ध गराइएको छ ।
तातोपानी गाउँपालिका–३ का गज बहादुर कार्की र वडा नम्बर–२ की विमला दमाईको घर लगातारको वर्षापछि भत्किँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा तथा दैनिक जीवनयापनका लागि आवश्यक सामग्री जोखिममा परेका थिए ।
घर पूर्ण रूपमा असुरक्षित बनेपछि परिवारका सदस्यहरू खुला आकाशमुनि बस्न बाध्य हुने अवस्था सिर्जना भएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ ३३ नम्बर गण सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले घरभित्र रहेका अन्नपात, भाडाकुँडा, लत्ताकपडा तथा अन्य महत्वपूर्ण सरसामान सुरक्षित रूपमा बाहिर निकालेर सुरक्षित स्थानमा व्यवस्थापन गरेको छ ।
सुरक्षाकर्मीको तीव्र र जिम्मेवार परिचालनका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । घर भत्किएर बिचल्लीमा परेका दुवै परिवारलाई तातोपानी गाउँपालिकाका अध्यक्षको पहल तथा किर्डाक नेपालको सहयोगमा तत्कालका लागि एक–एक सेट राहत सामग्री वितरण गरिएको छ ।
राहत सामग्रीमा दैनिक जीवनयापनका लागि आवश्यक अत्यावश्यक सामग्री समावेश गरिएको गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले जानकारी दिए ।
विपद्को कठिन घडीमा प्राप्त भएको सहयोगले पीडित परिवारलाई केही राहत मिलेको भए पनि उनीहरू अझै सुरक्षित आवासको पर्खाइमा छन् ।
विपद्को यस कठिन परिस्थितिमा सशस्त्र प्रहरी, स्थानीय सरकार तथा सहयोगी संस्थाहरूको सक्रियताले मानवीय क्षति हुनबाट जोगाएको भए पनि घर गुमाएका परिवारको पीडा अझै उस्तै छ ।





