हामीसँग प्रशस्त धनसम्पत्ती हुने, तर चाडपर्व नहुने हो भने जीवन कस्तो निरस र बैराग लाग्दो हुँदो हो ? यही पक्षलाई मध्येनजर गरेर हाम्रा पुर्खाले वर्षमा, महिनामा, पन्ध्र दिनमा, सातामा र हरेक दिनका तिथिमा समेत मनाउन मिल्ने गरी चाडपर्वको रीति बसालेका रहछेन् । जसले गर्दा हामीले गच्छेअनुसार पर्व मनाउन र पुर्खालाई सम्झिरहन पाएका छौं ।

हाम्रो समाजमा विभिन्न प्रकारका चाडबाडहरू मनाउने प्रचलन रहिआएको छ । यी चाडबाडहरूलाई चलनचल्तीमा संस्कृति भनिएको हुन्छ । पर्व भनेको मानिसहरूद्वारा खुसी पूर्वक सम्पन्न गरिने विशेष कार्य हो । यस्ता सांस्कृतिक पर्वहरू प्रकृक्तिसँग जोडिएका, परम्परासँग जोडिएका, धर्मसँग जोडिएका र इतिहाससँग जोडिएका गरी चार प्रकारका रहेको पाइन्छ ।
वैशाख सङ्क्रान्ति, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति आदि पर्वहरू सोझै प्रकृक्तिसँग सम्बन्धित पर्वहरू हुन् । यी पर्वहरू प्रकृतिमा देखापर्ने परिवर्तनप्रति सचेतनतामा आधारित छन् । प्रकृतिको विशेषतासँग सम्बन्धित पर्वहरू रहेका महिनाहरूमा पर्ने अन्य कतिपय पर्वहरू पनि प्रकृक्तिको विशेषतासँग मेल खाने खालका देखिन्छन् । ऋषितर्पणी/जनैपूर्णिमा भनेर मनाइने रक्षाबन्धन, तीज, ऋषिपञ्चमी, श्राद्धआदि पर्वहरू परम्परागत पर्व हुन् । यी परम्परा कहिले र कसले प्रारम्भ गरे भन्ने बारेमा जानकारी नहुने भएको हुनाले यिनीहरूलाई परम्परागत वा सतातन संस्कृतिका पर्व भनेर बुझ्न सकिन्छ । रामनवमी, कृष्णजन्माष्टमी, शिवरात्री, गणेशचतुर्थी, चण्डीपूर्णिमा/बुद्धपूर्णिमा, नवरात्र, छठ, ईद, क्रिष्टमस आदि पर्वहरू धार्मिक पर्व हुन् ।
गाईजात्रा, घोडेजात्रा, रातो मच्छिन्द्रनाथ जात्रा, भोटेजात्रा आदि पर्वहरू हाम्रो इतिहाससँग सम्बन्धित पर्वहरू हुन् । माथि भनिएका अन्य पर्वहरू अन्यत्र पनि यथाविधि मनाइने गरिएको हुन्छ भने इतिहाससँग सम्बन्धित पर्व अन्यत्र मनाइँदैन। हाम्रो हिन्दु संस्कृतिमा मूलतः पाँचवटा धर्महरू प्रचलनमा रहेको पाइन्छ ।
ती हुन्- १. वैष्णव (विष्णुसँग सम्बन्धित) २. शैव (शिवसँग सम्बन्धित) शाक्त (शक्ति/शक्तिको स्रोत देवीलाई मानिएको छ, सँग सम्बन्धित) ४ गाणपत्य (गणेशसँग सम्बन्धित) ५. सौर (सूर्यसँग सम्बन्धित) वैष्णवहरू विष्णुका दस अवतार भनिने (मत्स्य, कूर्म, बराह, नृन्सिंह, वामन, परशुराम, राम, कृष्ण-बलराम, बुद्ध) को विष्णुको अवतारका रूपमा पूजा गर्छन् । रामनवमी, जन्माष्टमी आदि यस धर्मका खास पर्वहरू हुन् । शैवहरू शिवका विभिन्न रूपाकृतिको पूजा गर्दछन् । शिवरात्रीका बेला पशुपतिनाथको पूजा, अन्य अवसरमा रूद्राभिषेक आदि गरिने दिन शैव धर्मका विशेष पर्व हुन् । शाक्तहरू शक्ति/देवीका विविध रूपहरूको पूजालाई प्राथमिकतामा राख्दछन् । विभिन्न देवीहरूसँग सम्बन्धित पर्वहरू (नवरात्र, लक्ष्मीपूजा आदि) यस धर्मका पर्व हुन् ।
गाणपत्यहरू गणपतिलाई प्रथम देवको रूपमा पूजा गर्ने गर्दछन् । गणेशचतुर्थी पर्व यस धार्मिक सम्प्रदायको मुख्य पर्व हो । गणपति/गणेशका सिद्धिविनायक लगायत अन्य विनायकहरूका स्थान यस धर्मका पूज्य स्थल हुन् । सूर्यलाई सर्वोपरि मान्ने धर्मलाई सौर भनिएको पाइन्छ । प्रकृक्तिका सबै गतिविधिहरू मूलतः सूर्यकेन्द्रित छन् । अँध्यारो, उज्यालो, उम्रनु, हुर्कनु, फुल्नु, फल्नु, पाक्नु आदि सूर्यसँग सम्बन्धित छन् । यी विषय सबैले मान्ने भए पनि अन्य सम्प्रदायजस्तो सूर्यलाई सर्वोपरि मान्ने छुट्टै सम्प्रदायका धार्मिकहरू त्यति देखिदैनन् । तर तराई क्षेत्रमा मनाइने छठपर्व सूर्यसँग सम्बन्धित पर्वको रूपमा प्रचलनमा रहेको छ । यो पर्वको क्षेत्रविस्तार अब तराई क्षेत्रबाहिर पनि भएको छ ।
जे होस्, यी धार्मिक विषयमा अवैज्ञानिक अन्धश्रद्धा छ भने यिनको विज्ञान पनि छ ।
विज्ञान र अविज्ञानको भेद भनेको यत्ति त हो- जानेर अपनाए विज्ञान, नजानी नजानी पछि लागे अविज्ञान । यी विषयमा पछि चर्चा होला । धर्म मानिसले बनाएको हो । सृष्टिको शक्तिको नामकरण पनि मानिसले नै गरेको हो ।
विष्णु, शिव, गणेश, देवी, सूर्यको नाम पनि उनीहरू आफैले राखेका होइनन्, यी सबैका सबै नाम मानिसले नै राखेका हुन् । प्रकृतिलाई संस्कृति बनाएको मानिसले नै हो । तर यो कहिले कसले सुरु गरे भन्ने थाहा नहनु हुनाले यिनीहरूलाई सनातन भनिएका हो । हामो ज्योतिषशास्त्र (ज्योतिर्विज्ञान) ले निधार्रण गरेको समय गणनाअनुसार श्रवण नक्षत्रमा पूर्णिमा पर्ने महिनालाई ‘श्रावण’ भनिन्छ, जसलाई हामी बोलीचालीमा साउन भन्दछौं । रमझम रमझम वर्ष भइरहने यो साउन महिना प्राकृतिक हिसाबले अत्यन्त रमणीय र महत्वपूर्ण छ । यो महिनालाई हरियालीको महिना मानिन्छ । हरियाली प्राकृतिक सौन्दर्य हो । अन्न उत्पादनका हिसाबले, तरकारी र फलफूल उब्जने हिसाबले यो महिना महत्वपूर्ण छ । त्यसैले होला यस महिनाको पहिलो दिन नै हाम्रो समाजमा खास पर्वको रूपमा मनाइन्छ । प्राकृतिक हिसाबले यस महिनादेखि सूर्यको गति दक्षिण आकाशतिर सर्दछ । सूर्य मिथुन नाम गरेको राशीबाट कर्कट राशीमा सर्ने भएकोले यसलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ ।
प्रकृतिको यो विशेष घटनालाई विशेष रूपमा बुझेर हाम्रा पुर्खाले साउने सङ्क्रान्ति विशेष रूपमा मनाउने चलन चलाएको देखिन्छ । यो महिना मध्य वर्षाको महिना हुने भएकोले छालामा हुने रोगहरू (लूतो आदि) बाट जोगिन सचेत हुने गरिन्छ । ‘तिउरी’ नाम गरेको बनस्पति थिचेर, त्यसमा अमिलो मिसाएर हातगोडामा लगाउने, लूतो फाल्ने आदि गरिन्छ ।
सहजताका कारण भन्न सकिन्छ, हिजोआज ‘तिउरी’को ठाउँमा मेहँदीको प्रयोग बढेको छ । यस महिनामा महिलाहरूले हरियो लुगा र हरियो चुरा लगाउने र उपहारका रूपमा साटासाट गर्ने प्रचलन छ ।
दूधालु पशु (गाई-भैंसी) ले हरियो, रसिलो खान पाएर बढी दूध दिने भएकोले साउनमा खिर खानेजस्ता प्रचलन पनि चलाइएको देखिन्छ । यस महिनामा नागपञ्चमी पर्दछ । नागपञ्चमीमा मानिसहरू नागको पूजा गर्दछन् । यसको तात्पर्य हो- प्रकृतिका विषालु जीव (सर्प) बाट जोगिन सचेत हुने र प्रकृतिको विविधताको संरक्षणका लागि सर्प जोगाउने । हावामा रहेको प्रकृतिका अनेकौं प्रदूषण ग्रहण गरेर विषाक्त भएको सर्प प्रदूषणरहित प्रकृतिका लागि महत्वपूर्ण प्राणी हो ।
यसै महिनामा शास्त्रहरूमा श्रावणी या ऋषितर्पणी उल्लेख गरिएको रक्षाबन्धन पर्व पर्दछ । यस दिन काठमाडौं उपत्यकातिर र त्यसको आसपास क्षेत्रमा यस मौसमको अत्यन्त उपयोगी गेडागुडीको मिश्रण-क्वाँटी खाने प्रचलन छ । धेरै प्रकारको <गेडागुडी मिसिएको क्वाँटीको रसिलो खान्की शरीर र स्वास्थ्यका लागि हितकर हुन्छ । तराईतिर यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी (रक्षासूत्र) बाँधिदिने प्रचलन छ । यसलाई दिदीबहिनी दाजुभाइका बीचको रक्षाको प्रतिबद्धता र पवित्रताको बन्धनको रूपमा लिइएको हुन्छ । पहाडमा यसलाई जनै लगाउने जातिसमुदायमा जनैपूर्णिमा र रक्षाबन्धन दुवै भनिन्छ । यस दिन ऋषि (वैज्ञानिक पुर्खा) लाई सम्मान र तृप्तपार्ने दायित्व स्मरण गर्ने दिन मानिन्छ । यस दिन पण्डित / पुरोहित वा पुज्नयोग्य व्यक्तिबाट रक्षाबन्धन बाँध्ने प्रचलन छ । यस दिनसँग एउटा पौराणिक प्रसङ्ग पनि जोडेर हेरिन्छ ।
बलि नाम गरेका राजालाई वामन बनेका विष्णुले छल गरे र प्रतिबद्ध बनाए, अनि बलिको राज्य खोसे र पाताल प्रवेश गराइदिए । यस प्रसङ्गले जस्तोसुकै परिस्थितिमा पनि प्रतिवद्धतावाट विचलित हुनुहुँदैन भन्ने शिक्षा दिएको छ भने मानिसको शक्तिको सबैभन्दा ठूलो स्रोत राज्य वा बल नभई बुद्धि हो भन्ने पनि हो । रक्षाबन्धनमा भनिने मन्त्र यस्तो छ :
येनबद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे माचल माचल । अर्थात् जुन रक्षासूत्र (धागो) ले दानवका राजा महान् बलशाली बलि बाँधिएका थिए । त्यसैले तिमीलाई पनि बांध्दछु । हे रक्षासूत्र ! अटल रक्षा गर ।
महाभारतमा कृष्णको औंलामा चोट लागेका बेला द्रौपदीले आफ्नो सारीको सानो भाग च्यातेर बाँधिदिएकी थिईन । जसको कारण उनी जुवाको खालमा चिरहरण भई अफ्ट्यारोमा परेको बेला कृष्णले द्रौपदीलाई अनन्त सारी उपलब्ध गराएर उनको इज्जत जागोएको प्रसङ्ग पनि उल्लेख गरिएको छ । यसवाट अरुलाई असजिलो पर्दा गरिएको सानो सहयोग आफुलाई पर्दा ठुलो भरोसा बन्न सक्दछ भन्ने आशय बुझ्न सकिन्छ । र यस सम्बन्धमा अन्य प्रसङ्गहरु पनि छन । यी प्रसङ्गहरुको समायोचित र बस्तुगत व्याख्या गर्न आबश्यक छ । यसबेला गरिने खेतीपाती, प्रकृक्तिबाट हुने पानीको उपलब्धता, पानी र प्राणीको सम्बन्धका साथै साउन महिनालाई कल्याणकारी शिवको पूजा गर्ने विशेष महिनाका रूपमा उल्लेख गरिएबाट पनि यो महिना कल्याणकारी महिना हो भन्न सकिन्छ ।





