जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ छिना गाउँको सिरानमा रहेको खानेपानीको सार्वजनिक धारामा जातिय विभेद खेप्नु परिरहेको त्यहाँका दलित समुदायका मानिसहरुले गुनासो गरेका छन् । त्यहाँ क्षेत्री समुदायको लागि र दलित समुदायको लागि भनेर एकै स्थानमा दुइवटा धारा निर्माण गरिएको हो ।

ती धारामा पानी लिन जाँदा होस्, नुहाइधुवायी र लुगा धुन गएको बेला होस्, त्यहाँका माथिल्लो जात भनिएका मानिसहरुले आफुहरुलाई छुवाछुतको लागि धेरै विभेद गर्दै आएको वडा नम्बर ६ छिना गाउँकी स्थानिय नानी सुनारले बताइन् ।
उनले भनिन्, छुवाछुत मात्र होइन कहिलेकाहीँ दलित तल्लो जात हो भनेर होच्याउने जस्ता अपशब्दहरु समेत बोल्ने गरेको हुनाले आफुहरुको मन सारै दुख्ने गरेको छ ।
म मात्र होइन हाम्रो दलित समुदायका प्रायजसो महिलाहरुले छुवाछुतको विभेद खेप्दै आएका छौ । नानी सुनार मात्र होइनन्, प्राय पानी लिनको लागि धारामा जाने महिलाहरुले जातिय विभेद खेप्न परिरहेको गुनासो गरेका छन् ।
यता चन्दननाथ नागरपािलकाको वडा नम्बर ६ का वडा अध्यक्ष रवि थापाले जातिय विभेदको विषयमा आफुहरुसँग जानकारी नआएको बताएका छन् ।
आगामी दिनमा अहिले देखिएको समस्यालाई सम्बोधन गर्नको लागि सचेतनाका कार्यक्रम गर्ने बताएका छन् । यति गर्दा पनि नमानेको खण्डमा कानुनी कारवार्ही गरिने उनको भनाई छ ।





