काठमाडौँ, भाद्र १ । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र प्रचार–प्रसारलाई दीर्घकालीन रूप दिन ‘खाइराइड निबन्ध सङ्ग्रह’का सर्जक राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ यस वर्ष निबन्ध विधामा प्रदान गरिने भएको छ।

बाङ्गा अक्षरले व्यवस्थापन गर्ने यस पुरस्कार प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत नेपाली भाषी विद्यार्थीहरूलाई हास्यव्यङ्ग्य निबन्ध लेखनमा सहभागिता जनाउन आह्वान गरिएको छ।
पुरस्कार चार जनालाई प्रदान गरिनेछ। जसअन्तर्गत प्रथम हुनेलाई रू २० हजार, द्वितीयलाई रू १० हजार र तृतीय हुने दुई जनालाई जनही रू ५ हजारका दरले नगद पुरस्कार दिइनेछ।
प्रतियोगितामा भाग लिनका लागि विद्यार्थीहरू कक्षा १२ सम्मका हुनुपर्नेछन् र विद्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ। मौलिक रचनामात्र स्वीकार गरिने प्रतियोगिताका लागि निबन्ध ११०० देखि १८०० शब्दबीचको हुनुपर्नेछ। देवनागरी लिपिमा टाइप गरिएका निबन्ध WORD र PDF दुवै फाइलमा पठाउनुपर्नेछ।
बाङ्गा अक्षरले निबन्ध पठाउँदा भाषा, शुद्धता र मौलिकतालाई विशेष ध्यान दिन आग्रह गरेको छ। साथै कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी तयार पारिएका वा चोरी–नक्कल गरिएका निबन्ध अस्वीकार गरिनेछ।
निबन्ध जुनसुकै विषयमा लेख्न सकिने भए पनि रचनाले समाजका प्रवृत्तिलाई व्यङ्ग्य गर्नुपर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, सम्प्रदाय वा लिङ्गलाई लक्षित गरी गरिएको व्यङ्ग्य स्वीकार्य नहुने स्पष्ट गरिएको छ।
प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले आफ्नो निबन्ध, फोटो र छोटो व्यक्तिगत विवरणसहित २०८२ कात्तिक २५ गतेभित्र बाङ्गा अक्षरको इमेल ठेगाना bangaakshar@gmail.com मा पठाउनुपर्नेछ।
प्राप्त निबन्धहरू निर्णायक मण्डलले मूल्याङ्कन गर्ने र उत्कृष्ट चार रचनालाई पुरस्कृत गर्ने जनाइएको छ। पुरस्कार वितरण कार्यक्रम २०८२ पुष १२ गते बाङ्गा अक्षर स्थापना दिवसको अवसरमा आयोजना गरिनेछ।





