जुम्ला । जुम्लाको ‘लाल सुन’ भनेर चिनिने स्याउ यतिबेला सडकमै कुहिने जोखिममा परेको छ। सुर्खेत जुम्ला सडक खण्डमा लगातार तीन दिनदेखि पहिरोले अवरोध गरेपछि जुम्लाबाट सुर्खेततर्फ लोड भएर गएका २० वटा स्याउका ट्रक बाटोमै थन्किएका छन्।

भदौ १४ गते शुभकालिका–१, गगने खोलामा पहिरो सहित ठूला ढुंगा खसेपछि कर्णाली राजमार्ग ठप्प भएको हो। सडक अवरुद्ध भएको तीन दिन पुग्दा समेत पहिरो पन्छाउन नसकिँदा स्याउ बोकेका ट्रक र यात्रु दुवै दु:खमा परेका छन्।
तीन दिनसम्म पनि सडक सञ्चालनमा आउन नसकेपछि ट्रकमा राखिएका स्याउ कुहिने त्रास बढेको छ। प्रहरी चौकी नाग्मा कालीकोटका अनुसार तीन दिनमा स्याउ बोकेका २० वटा ट्रक छुटेका छन् । ती ट्रक सडकमा पहिरो आएकाले सुर्खेत नेपालगन्जका बजारमा पुर्याउन सकिएको छैन । स्याउ बाटोमै कुहिने जोखिम बढेको व्यापारीहरूले बताएका छन् ।
गत वर्षको भन्दा यो वर्ष स्याउ स्वादिलो पनि छ। जुम्लाको गुठिचाैर गाउँपालिका ५ का स्याउ किसान केसी भण्डारीले सडकले हरेक वर्ष किसान र व्यापारीलाई दु:ख दिने गरेकाे बताए । भदौ १४ गते ८ वटा, १५ गते ११ वटा र १६ गते एक वटा मालवाहक ट्रक गरि कुल २० वटा ट्रकमा स्याउ लोड भएको प्रहरीले जनाएको छ ।
नाग्मा प्रहरी चौकीका असइ यम शर्माले जुम्ला देखि जाने हरेक मालवाहक गाडीमा स्याउ लोड हुने गरेको बताए । सडकमै स्याउका गाडी थन्किएपछि कुहिने जोखिम बढेको व्यापारीले बताउछन् ।
यता कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार यो वर्ष १३ हजार मेट्रिक टन स्याउ फल्ने अनुमान गरिएको जानकारी दिए । स्याउका झन्डै ५ लाख बिरुवामा असिनाले क्षति पुर्याएको छ । ‘स्याउको उत्पादन कम भएकोले मूल्य बढ्ने देखिएको अनुमान गरिएको उनकाे भनाइ छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्व भएपछि ६३ वटा स्याउ बोकेका मालबाहक ट्रक अलपत्र परेका थिए । स्याउ कुहिएर लाखौंको क्षति भएको थियाे ।
यस्तै सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख दिपेन्द्र चाैधरीले पहिरो पन्छाउन ब्लाष्टिङको तयारी गरिरहेको बताए । उनले भने, अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिति छैन । त्यसैले कालिकाेट बाट नेपाली सेनाकाे टाेली पहिराे खसेकाे स्थल तर्फ गएकाे बताए ।
यात्रु समेत अलपत्र :
सडकमा खसेकाे पहिराेले स्याउ मात्र होइन, यात्रु समेत अलपत्र परेका छन् । काठमाडौ, नेपालगन्ज र सुर्खेत बाट जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालिकोट तर् आउने हजारौं यात्रु पनि बाटोमै अलपत्र परेका छन् । महिला देखि बालबालिका, ज्येष्ठनागरिक र अपांगता भएका व्यक्तिहरू यात्रामा ठूलो कष्ट खेपिरहेका छन्। के खाने, कहाँ बस्ने भन्ने समस्या छ। वर्षेनी यस्तै दु:ख भोग्नुपर्ने यात्रुहरूले गुनासो गरेका छन् ।
किसान व्यापारीमा चिन्ता:
जुम्लाको करिब ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ। यस वर्ष १३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान भए पनि असिनाले ५ लाख बिरुवा क्षति पुर्याएको छ। उत्पादन घटेकाले मूल्य बढ्ने अपेक्षा गरिएको थियो। तर सडक बन्द हुँदा जुम्लाको स्याउ बजार सम्म नपुग्दा किसान व्यापारी दुवै घाटामा पर्ने अवस्था देखिएको छ ।
हाम्रो पसिना बजारमै पुग्दैन, बाटोमै कुहिन्छकि भन्ने चिन्ताले किसानले दु:ख पाेखेका छन् । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, चितवन र बुटवलसम्म पुग्ने गरेकाे छ । यसपटक सडक अबिलम्ब नखुल्दा स्याउ नष्ट हुने मात्र होइन, देशभरका उपभोक्ताले पनि सस्तो मूल्यमा स्वादिलो स्याउ खान पाउने अवसर गुमाउने देखिएको छ।





