जुम्ला । जिल्लाका विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक रूपमा परिणत भई तोडफोड तथा आगजनीका घटनाहरू भएका कारण जुम्लामा पनि सम्भावित अशान्ति रोक्न जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्फ्यु आदेश जारी गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको आदेशमा बुधबार ५ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएकाे छ । कफ्यु आदेशको उल्लंघन गर्नेहरूलाई कानूनी दायरामा ल्याइने चेतावनी दिइएको छ।
विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गरिएकाे निमित्त प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिइन् ।
प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेना समेत सबै सुरक्षा निकाय परिचालन भएको अवस्था छ। सबै जना शान्त रही आ-आफ्नो घर/स्थानमा सुरक्षित रहनु हुन अनुरोध गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।





