जुम्ला । संविधान दिवस २०८२ को अवसरमा तातोपानी गाउँपालिकाले विशेष सरसफाई अभियान सहित दिवस मनाएको छ । गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पालिकाभित्रका बालक्लवका सदस्य तथा स्थानीय सरोकारवाला सबैको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको परिसर सफा गर्दै एक आपसमा सहकार्य र एकताको सन्देश दिएका छन् । संविधान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारमै उतार्नुपर्ने विचार सहभागीहरूले व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै गाउँ–गाउँमा विकास, शिक्षा, स्वास्थ्य र सफासफाई जस्ता अभियानलाई जीवन्त बनाउनुपर्नेमा जोड दिए । उनले भने, “हामी सबै मिलेर सरसफाई र सचेतना मार्फत गाउँपालिकालाई उदाहरणीय बनाउन सक्छौं ।
संविधान दिवस हाम्रो सामूहिक जिम्मेवारी सम्झाउने अवसर हो । कार्यक्रममा बालक्लवका सदस्यहरूले समेत उत्साहपूर्वक सरसफाईमा सहभागी भएर आगामी पुस्ताले संविधानको मर्म बुझेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने सन्देश दिएका थिए ।
यसरी तातोपानी गाउँपालिकाले सरसफाई अभियानमार्फत संविधान दिवसलाई जनजीवनसँग जोडेर मनाएको छ, जसले गाउँपालिकामा एकता, सहकार्य र सकारात्मक ऊर्जा थपिदिएको सहभागीहरूले बताएका छन् ।





