जुम्ला । बुबाको सपना, आमाको आँसु र सफलताको यात्रा
बाल्यकाल देखि नै परिवारमा केही फरक वातावरण थियो। बुबा साविकका गाविस मुखिया भएकै कारण घरमा सम्मान, सहजता र सुविधा थियो। तर नियतिको कठोर खेल कहाँ कसैलाई थाहा हुन्छ र ? २०७० सालतिर, इन्जिनियर अध्ययन गर्दै गरेको बेलामै बुबाको अचानक निधन भयो ।

वीर अस्पतालमा किड्नी फेल भएर बुबाले संसार छोडेर जाँदा घरको आधार नै भत्किएको जस्तो लाग्यो । बुबा नहुँदा अचानक घरको सम्पूर्ण जिम्मेवारी काँधमा खस्न थाल्यो । दाजु विदेश, मलेसिया रोजगारीमा, आमा तरकारी बेचेर घर चलाउने, पढाइ खर्च तिर्ने र भाउजूले सकेको सहयोग गर्ने गरेकाले मेराे जीवनमा केही सहज भएकाे थियाे ।
यस्तै कठिन परिस्थितिमा जीवन अघि बढ्न थाल्यो । मेराे चार वर्षको इन्जिनियर पढाइ सजिलो थिएन । किनकि प्रत्येक दिन बुबाको याद, घरको समस्या र भविष्यको अनिश्चितताले मन भारी बनाइरहन्थ्यो।
यस्तै तनावका क्षणहरूमा, काठमाडौंको शंखमुलमा रहेको दारी बा नामक चिया पसल मेरा लागि एउटा सहारा बनेको थियो। त्यहाँको सानो चिया र साथीहरूसँगको हल्का गफगाफले टेन्सन कम हुन्थ्यो।
यिनै कठिन दिनमा, चिया पसलको अनुभवले भविष्यमा केही नयाँ गर्नुपर्छ भन्ने सोच जाग्यो । “आमाले बिहान बेलुकी तरकारी बोकेर हामीलाई पढाउनु भएको थियाे । भाउजूले पनि साथ दिनुभएको थियाे ।
घर ती सबै समस्या देख्दा मलाई लाग्याे अब म चुप लागेर बस्न मिल्दैन । केही गर्नुपर्छ।” यही भावनाले आत्मबल बनाइदियो ।
त्यसपछि आफ्नै जमिनमा चिया साइट सुरू गर्ने निर्णय भयो । १५ लाख रुपैयाँको प्रारम्भिक लगानी गरेर व्यवसाय थालियो । सुरुमा डर लाग्थ्यो “कसरी हुन्छ? सफल होला कि नहोला?” तर आमाको आँसु र परिवारको संघर्ष सम्झँदा हरेक कठिनाइ सानो लाग्न थाल्यो ।
आज त्यही चिया पसल, त्यही संघर्षले बाटो देखाएको व्यवसायमा ६ जना कर्मचारी काम गर्छन् । परिवारलाई आर्थिक आधार बनेको छ । आमाको आँसु मुस्कानमा बदलिएको छ। यो कथा केवल एउटा व्यवसाय सुरु गर्ने मात्र होइन बुबाको सपना, आमाको आँसु र आफ्नै संघर्षलाई जीवनको उचालो बनाउन सकिन्छ भन्ने प्रमाण हो।
जुम्ला बजारको बिजयनगर बाट साँघुरो गल्ली हुँदै , कृषि अनुसन्धान कार्यालयको बाटो बाट र जिल्ला प्रहरी कार्यालयको बाटो बाट लागेपछि भेटिन्छ । एउटा साधारण तर आत्मीय पसल ।
टिनको छानो, टायरका कलात्मक रङ्गिन टेबुल , प्लास्टिकका कुर्सी भुईमा ढुङ्गाका ससाना टुक्रा , मन्द मन्द सङ्गितमय बाताबरण सङ्गै छेउमा धुवाँ उडाउँदै उम्लिरहेको चियाको भाँडो ।
यतिबेला त्यहाँ उपस्थित ग्राहकहरुको धड्कन त्यही भाँडोमा उम्लिरहेको जस्तो लाग्छ । यो चिया साइडको मालिक हुन् जुम्ला चन्दननाथ नगरपालिकाका राजेश महत पेशाले त शिक्षक भनेर चिनिन्छ तर आत्माले उनी उद्यमी हुन । बिहान विद्यालयको घण्टी सँगै नयाँ पुस्तालाई ज्ञान बाँड्छन्, बेलुकी चियाको धुवाँ सँगै ग्राहक सङ्ग आत्मीयता बाँड्छन् ।
उनी पहिला बिद्यार्थी हुदाकाे एक समयमा उनी पनि यस्तै अर्कैले बनाएकाे चिया अड्डामा बसेर चिया पिउने गर्दथे । कहिले काँही उनलाई लाग्दथ्याे हाम्रो जुम्लामा पनि यस्तै खालकाे चिया अड्डा बनाउनु सके के हुन्थ्यो ? यस्ता प्रश्नहरू उनका मनमा खेल्ने गर्दथे ।
राजेश नेपालकाे संघीय राजधानी काठमाडौं बस्दा एक व्यापारीले खाेलेका थिए , चिया अड्डा त्याे चिया अड्डाले राजेश लाई कता कता प्रेणा मिल्याे जुम्लामा पनि यस्तै चिया पसल संचालन गर्छु ।
तर उनी अहिले एक साधारण शिक्षक हुन् । शिक्षकको कोठरीमा दिन बिताउँदा राजेशलाई कहिले काहीँ लाग्थ्यो “ज्ञान मात्रले पेट भरिन्छ ? गाउँलाई केवल किताबले सजिलो हुन्छ ?” प्रश्नहरूको भीडले उनलाई हल्लाइरहन्थ्यो । बजारमा भेटघाट गर्ने कुनै साँझा थलो थिएन । किसानले थकाइ मेट्ने, विद्यार्थीले रमाउने, बुढापाकाले अनुभव बाँड्ने ठाउँको अभाव थियो ।
यही अभावलाई सपना बनाउँदै उनले मनमनै एउटा चित्र कोरे सानो चिया पसल, जहाँ सबैको रंग मिसिन सकोस । पसल सुरु गर्दा पूँजी भन्दा ठूलो थियो उनको हिम्मत। गाउँकै काठ र टिन जोडेर बनाइएको त्यो पसल बाहिरबाट सामान्य देखिन्थ्यो, तर भित्र उम्लिरहेको थियो आशा ।
पहिलो दिन पसलमा चिया उम्लँदा राजेशले महसुस गरे यो केवल दूध, चिनी र पातको मिश्रण होइन, यो त जुम्लाकै धड्कनको स्वाद हो ।
बिहानै खेततर्फ लाग्ने किसानहरू पसल तिर पसारिन्छन् । भालेको बास सँगै पसलमा चियाको धुवाँ उठ्छ ।
“आज घाम लाग्ला जस्तो छ नि भन्दै चियाको कप सँगै दिन सुरु हुन्छ।
विद्यालय तिर लाग्ने बालबालिकाको आँखामा चियाको कप भन्दा ठूलो रमाइलो छैन । उनीहरूलाई चियामा भन्दा बढी रमाइलो लाग्छ साथीहरूसँग टेबलमा धक्का मुक्की गर्नु, बिस्कुटलाई चियामा डुबाएर खानु मीठो सङ्गितमय धुन सङ्गै दिनको सुरुवात गर्नु यस्तै यस्तै ।
मध्याह्न तिर पसल राजनीति बिकास खेतीपाती उज्ज्वल भबिश्यको कुरा र गाउँकै भविष्य बारे बहस हुने मंच बन्छ ।
देश ठिक छैन तर गाउँ समाजलाई हामीले बनाउनै पर्छ ।
चिया त राम्रै बनेको छ है, तर चिनी त महँगो भइसक्यो ।
चियासँगै सुरु हुने गफ कति बेला देशको भविष्यमा पुग्छ, कतिबेला गाउँकै हाँसो ठट्टामा हराउँछ । कतिबेला आत्मियतामा रमाउछ ।
साँझ तिर जब खेतबाट फर्किएका किसान, विद्यालयबाट फर्किएका शिक्षक, सरकारी तथा गैरसरकारी कार्यालय बाट फर्किएका कर्मचारी र बजारबाट फर्किएका व्यापारी र युवायुवतीकाे जम्बाे टाेली पसलमा जम्मा हुन्छन् तब पसल एकाएक कुनै बैठक कोठामा बदलिन्छ ।
कसैले ताजा समाचार सुनाउँछन्,कसैले पुरानो सम्झना । बुढाबाजेहरू भन्छन् , हामी त पुरानो समयमा ढुङ्गाको चुलोमा चिया उमाल्थ्यौं, अहिले त सजिलो भो ।
यी कुराकानीसँगै पसलमा उम्लिरहेको चियाले सबैलाई एकै सूत्रमा बाँधिदिन्छ ।
तर चिया पसल चलाउनु केवल रमाइलो मात्र होइन । कहिले दूध महँगो हुन्छ कहिले ग्यास अभाव कहिले ग्राहक घट्छन् कहिले प्रतिस्पर्धा बढ्छ । यी सबै कुरालाई पुर्वानुमान गरेर नै हरेस नखाई अगाडि बढ्ने उत्साह छ राजेश मा ।
उनी भन्छन “पसल त जिन्दगी जस्तै हो कहिले मीठो, कहिले तीतो तर चिया उम्लाउन छोड्नु हुँदैन ।
राजेश महतको चिया साइट एउटा सानो प्रयास हो । तर यसको प्रभाव ठूलो छ । उनले देखाएका छन पसल केवल व्यापार होइन, समाजलाई जोड्ने पुल हो ।
साहित्यिक रूपमा भन्नुपर्दा उनको पसल केवल उम्लिएको चियाको स्वाद होइन यो त जुम्लाको आत्मा हाँसो आँसु र भविष्य उम्लिरहेको भाँडो हो ।





