जुम्ला । गुठिचौर गाउँपालिकामा भोलिदेखि दाेर्साे पटक आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु हुने भएको छ। गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार महोत्सवमार्फत स्थानीय तथा बाह्य पर्यटकलाई रोमाञ्चक अनुभव दिलाउने तयारी गरिएको हो ।

प्याराग्लाइडिङका लागि सेवा शुल्क गाउँपालिकाभित्रका पर्यटकका लागि ३ हजार ५ सय र बाहिरका लागि ४ हजार ५ सय तोकिएको छ। सहभागीले २० देखि ३० मिनेटसम्म आकाशमा उडान भरने मौका पाउनेछन् ।
अध्यक्ष बुढाले भने, ” महोत्सवले गुठिचौरलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने र स्थानीय आर्थिक स्तरमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
भोलिदेखि सुरु गर्न लागेको आकासे पर्व प्याराग्लाइडिङ महोत्सव पर्यटक र साहसिक प्रेमीका लागि विशेष आकर्षण बन्ने संकेत रहेकाे अध्यक्ष बुढाकाे भनाइ छ ।
यस्तै गाउँपालिकाकि उपाध्यक्ष शान्तिकुमारी मल्ल ( भण्डारी ) का अनुसार, यो महोत्सवले पर्यटकलाई जुम्लाको पहाडी सौन्दर्य र प्राकृतिक दृश्यलाई आकाशबाट अवलोकन गर्ने अनौठो अनुभव दिने बताइन् ।
उनले भनिन्, “आकाशमा २० देखि ३० मिनेटसम्म उड्न पाइने भएकाले सहभागीहरूले जीवनभर नबिर्सिने रोमाञ्चक क्षण अनुभव गर्नेछन्।” महाेत्सवमा प्रशिक्षित पाइलटसहितको सुरक्षित उडान सुविधा उपलब्ध रहेकाे उनकाे भनाइ छ ।
महोत्सवमार्फत जुम्लाको पर्यटनलाई नयाँ आयाम दिने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ। कर्णालीको हिमाल, हरियाली वन, गाउँघरको दृश्य र स्याउबगानलाई एकै पटक आकाशबाट हेर्ने अवसर पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको उपाध्यक्ष भण्डारीकाे भनाइ छ ।
महोत्सवले केवल पर्यटकलाई रमाइलो अनुभव दिने मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र गाउँपालिकाको आर्थिक गतिविधि विस्तार गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरेकाे प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाकाे भनाइ छ ।
उनका अनुसार, हाम्रो ठाउँ अब केवल कृषिमा सीमित होइन, पर्यटनमैत्री गन्तव्यका रूपमा पनि चिनिने बताइन् । यो महोत्सवले गुठिचौर मात्र होइन, सम्पूर्ण जुम्ला जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बुढाकाे भनाइ छ ।
अब जुम्ला पुग्ने पर्यटकले केवल स्याउको मिठास र हिमालको सौन्दर्य मात्र होइन, आकाशमा उड्ने साहसिक अनुभव पनि बटुल्न सक्ने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ ।





