चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ ५२ हाते लिङ्गो प्रतिष्ठाप
जुम्ला, असोज ६, २०८२ कर्णालीको ऐतिहासिक र सांस्कृतिक धरोहर चन्दननाथ,भैरवनाथ मन्दिरमा आज नयाँ ५२ हाते लिङ्गो प्रतिष्ठापन गरिएको छ । परम्परा अनुसार प्रत्येक वर्ष घटस्थापनाको दिन लिङ्गो फेर्ने चलन अनुसार यो वर्ष पनि सो धार्मिक विधि द्वारा सम्पन्न भएको हो ।
इतिहासको झलक
खश मल्ल साम्राज्यको पतनपछि कर्णाली क्षेत्रमा २२ से र गण्डकी क्षेत्रमा २४ से राज्यको उदय भएको इतिहासमा पाइन्छ । तीमध्ये जुम्ला राज्यमा खश कल्याल वंशको शासन रहेको मानिन्छ । बलिराजा लाई यस राज्यको प्रथम शासक र सूर्यभान शाहीलाई अन्तिम राजा मानिन्छ ।
त्यही कालखण्डमा कश्मीरबाट कैलाश मानसरोवरको यात्रामा आएका महागुरु चन्दननाथ यहाँ पुगेका थिए । दत्तात्रेय भगवानका उपासक चन्दननाथलाई तत्कालीन शासकले जुम्लामै बसालेर मन्दिर स्थापना गराएका थिए । गुरु चन्दननाथकै नामबाट यो मन्दिर परिचित रह्यो, जससँगै उनले बटुक भैरवनाथ मन्दिर पनि स्थापना गरेको भन्ने जनश्रुति रहेको पाइन्छ ।

वार्षिक धार्मिक विधि
गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाका अनुसार चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातकै ध्वजा राखिन्छ । जबकि भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्गो र ध्वजा राख्ने परम्परा रहेको छ । वर्षमा ५२ हप्ता हुने भएकाले देवी देवताले वर्ष भरि रक्षा गरून् भन्ने विश्वास सहित ५२ हातको लिङ्गो प्रतिष्ठापन गर्ने चलन रहेको बताए ।
लिङ्गो ठड्याएपछि मात्र जुम्लावासीले आ आफ्ना घरमा घटस्थापना गर्ने परम्परा छ । साथै मन्दिरको माटो घरमा ल्याएर जमरा राख्ने अनौठो चलन पनि यहाँको विशेषता हो । हाल मन्दिर परिसरमा जय स्तम्भ सहित पाँचवटा लिङ्गो खडा गरिएका छन ।
पुराना रीतिरिवाज जगेर्ना
बुढापाकाका अनुसार उत्पादन वृद्धि होस , भोकमरी नहोस भन्ने कामना सहित यहाँ मार्सी धानको सिक चढाउने पुरानो परम्परा आजसम्म जीवित छ । करिब एक दशक अघि सम्म लिङ्गो फेर्ने दिन कर्णालीका विभिन्न जिल्ला बाट सामग्री ल्याउने चलन थियो । “जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा, चौरीको फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडीपाखी तथा चौरी पठाइन्थ्यो ।” बिश्वराज पाण्डेले स्मरण गरे । हाल भने सो परम्परा रोकिएको छ र आवश्यक सबै व्यवस्था सुरक्षाकर्मी मार्फत हुने गरेको समेत बताएका छन ।
जनश्रुति र नामको उद्गम
जनविश्वास अनुसार, प्राचीन समयमा स्वामी दत्तात्रेयको मूर्ति रहेको स्थानमा दुई विशाल नाग देखा परे । मूर्तिसमक्ष पुग्ने बित्तिकै दत्तात्रेयको शक्तिले ती दुवै नाग तत्क्षण भष्म भए । त्यसपछि बनेका दुई पहाडलाई ‘जुम्ल्याहा’ भनिन थाल्यो । जसको अपभ्रंश हुँदै जिल्लाको नाम ‘जुम्ला’ रहन गएको भन्ने विश्वास रहेको छ ।
सरकारी बिदा
यस धार्मिक पर्वको सम्मानमा कर्णाली प्रदेश सरकारले असोज ६ गते (कृष्ण त्रयोदशी) चन्दननाथ मन्दिरको लिङ्गो ठड्याउने दिनका अवसरमा जुम्लामा सार्वजनिक बिदा दिएको छ ।







