नेपालको लोकतान्त्रिक यात्रामा २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन एक अत्यन्तै महत्वपूर्ण मोडको रूपमा आएको छ । यो निर्वाचन केवल पाँच वर्षको कार्यकालका लागि प्रतिनिधि चयन गर्ने औपचारिक प्रक्रिया मात्र होइन, विगतका राजनीतिक अभ्यासको गहिरो समीक्षा गर्ने, पुराना कमजोरीलाई सच्याउने र देशको भविष्यको बाटो तय गर्ने ऐतिहासिक अवसर हो। लोकतन्त्रको निरन्तरता सँगै लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ बलियो बनाउने जिम्मेवारी यस निर्वाचनको काँधमा छ ।

विगतको मूल्यांकन गर्दा नेपाली जनताले लामो समय देखि बहुपक्षीय लोकतन्त्रको बाटोमा निरन्तर यात्रा गरिरहेका छन । तर, यो यात्रा सधैं सरल र पारदर्शी भएको छैन। पुराना राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्नु, भ्रष्टाचारको गहिरो जरा, नीतिगत अनिश्चितता, गैरजवाफदेहिता र विकास योजनामा निरन्तर ढिलाइले जनतामा निराशा बढाएको छ । धेरै मतदाताले आफ्ना प्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्दा पनि परिणाममा आशा गरेको जस्तो परिवर्तन देख्न सकेका छैनन । यही कारण अहिलेको निर्वाचन जनताको विश्वास पुनःस्थापित गर्ने एउटा ठूलो अवसर हो ।
यस निर्वाचनले पुरानो राजनीतिक संस्कारलाई छिचोल्दै नयाँ राजनीतिक आचरणको थालनी गर्नुपर्ने अपेक्षा सबैको छ। लोकतन्त्र केवल मतपत्रमा सीमित रहनु हुँदैन, यसको आत्मा नागरिकको सक्रिय सहभागिता, पारदर्शिता र जवाफदेहितामा निहित हुन्छ । यही मूल्यलाई जोगाउने र सुदृढ पार्ने जिम्मेवारी राजनीतिक दल, उम्मेदवार र मतदाता सबैको हो ।
यस सन्दर्भमा नेकपा (एमाले) जस्तो मुलधारको राजनीतिक शक्तिको भूमिका झन् जिम्मेवार बन्नु आवश्यक छ । एमालेले विगतमा विकास, स्थिरता र राष्ट्रियता जस्ता विषयमा योगदान पुर्याएको भए पनि अहिलेको समयले उसलाई अझ स्पष्ट र जनमुखी दृष्टिकोणमा प्रस्तुत हुन चुनौती दिएको छ । उम्मेदवार चयनदेखि निर्वाचन घोषणापत्रसम्म हरेक चरणमा जनताको आकांक्षा प्रतिबिम्बित हुनुपर्छ। केवल आकर्षक नारा र भाषणले मत पाउने समय अब सकिएको छ । अबको निर्वाचनमा जनताले कार्ययोजना, व्यवहारिक कार्यक्रम र इमानदार कार्यशैली चाहन्छन् ।
नेतृत्वका चार आधारभूत गुण
अबको नेतृत्वमा चार महत्वपूर्ण गुण अनिवार्य छ । बिशेषज्ञता, सरलता, जनताको आवाज सुन्ने क्षमता, र इमानदार जवाफदेहिता।
विशेषज्ञता जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, सूचना–प्रविधि जस्ता क्षेत्रमा ठोस र व्यावहारिक समाधान दिन सक्ने ज्ञान हुनुपर्छ। नीतिनिर्माणमा अनुभवी र तथ्यमा आधारित निर्णय लिन सक्ने क्षमता बिना विकासको गति सम्भव हुँदैन।
सरलता प्रतिनिधि जनतासँग सहज सम्पर्कमा रहनु जरुरी छ। गाउँ–टोलका सामान्य नागरिकदेखि शहरका बुद्धिजीवीसम्म सबैसँग संवाद गर्न सक्ने, जनचाहना बुझ्न सक्ने सरल स्वभावले मात्र जनतामा विश्वास बढ्छ।
जनसुनुवाइ प्रभावकारी नेतृत्वले आफ्ना मतदाता र नागरिकको गुनासो तथा सुझावलाई प्रत्यक्ष सुन्नु र नीतिमा समावेश गर्नु पर्छ। प्रतिनिधि केवल चुनावको समयमा देखिने पात्र नभई, पाँच वर्षभर गाउँ–घरमा पुग्ने, समस्या बुझ्ने र समाधानमा पहल गर्ने हुनु आवश्यक छ।
जवाफदेहिता लोकतान्त्रिक नेतृत्वको मूल आधार नै जवाफदेहिता हो। निर्वाचित प्रतिनिधिले नियमित रूपमा जनतालाई प्रतिवेदन दिनु, आफ्ना निर्णयको कारण स्पष्ट पार्नु, आलोचना स्वीकार गर्नु र आवश्यक सुधार गर्न सक्नु पर्छ।
जुम्ली जनताको अपेक्षा र अनुभव
जुम्ला जिल्लाका मतदाताले विगतका निर्वाचनमा पुरानाभन्दा फरक र नयाँ उम्मेदवारलाई विश्वास गरेर जिताउने परम्परा देखाएका छन्। यो तथ्यले यहाँको जनतामा परिवर्तनको चाहना प्रष्ट पार्छ। यहाँका मतदाताले केवल भाषण र वाचा सुन्ने मात्र होइन, व्यवहारमा परिवर्तन देख्न खोजिरहेका छन्। यसैले नेकपा (एमाले) का तर्फबाट आउने उम्मेदवारले व्यक्तिगत स्वार्थ वा पद–प्रतिष्ठाको मोहभन्दा माथि उठेर नयाँ विचार, स्पष्ट भिजन र प्रगतिशील दर्शन बोकेर अघि बढ्न जरुरी छ ।
जुम्लाको भौगोलिक अवस्था, विकासको स्तर, आर्थिक चुनौती र सामाजिक संरचनाले यहाँको राजनीति अझ जटिल बनाउँछ। दुर्गम क्षेत्र भएकाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि उत्पादन, रोजगारी, स्वच्छ खानेपानीजस्ता आधारभूत आवश्यकता अझै पनि चुनौतीपूर्ण छन्। त्यसैले उम्मेदवारले यी क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रणनीति ल्याउनु अपरिहार्य छ ।
व्यावहारिक कार्ययोजना र दीर्घकालीन रणनीति
आगामी निर्वाचनलाई आधार बनाएर एमालेका उम्मेदवारहरूले निम्न क्षेत्रका योजनालाई स्पष्ट रूपमा अघि सार्नुपर्छः
शिक्षा गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार, विद्यालयमा आधुनिक प्रविधिको प्रयोग, शिक्षकको क्षमता अभिवृद्धि, र दुर्गम गाउँसम्म समान पहुँच।
स्वास्थ्य आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्धता, ग्रामीण क्षेत्रमा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्था, अत्यावश्यक औषधि सहज आपूर्ति, र मातृ–शिशु स्वास्थ्यमा विशेष ध्यान।
रोजगारी स्थानीय स्रोत र उत्पादनमा आधारित उद्योग स्थापना, युवा उद्यमशीलतालाई प्रोत्साहन, तालिम तथा सीप विकास कार्यक्रम, र वैदेशिक रोजगारीमा निर्भरता घटाउने नीतिहरू।
कृषि आधुनिक खेती, सिंचाइ सुविधा, बजार पहुँच, कृषि बीमा र कृषकलाई सस्तो ऋण।
पूर्वाधार यातायात सञ्जाल विस्तार, सुरक्षित सडक, बिजुली र खानेपानीको दिगो आपूर्ति, सूचना प्रविधि र इन्टरनेट पहुँच ।
सुशासन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सरकारी कामकाजमा पारदर्शिता, स्थानीय तहलाई अधिकार र स्रोतको प्रभावकारी प्रयोग।
सामाजिक न्याय महिला, दलित, अल्पसंख्यक, अपांगता भएका नागरिकलाई समान अवसर, शिक्षा र रोजगारीमा प्राथमिकता।
यी योजनाहरू केवल कागजमा सीमित नभई व्यवहारमा उतार्ने तयारीसहित प्रस्तुत हुनुपर्छ। जनताले तत्काल देख्न सक्ने प्रारम्भिक उपलब्धि र दीर्घकालीन दृष्टिकोण दुवै आवश्यक छन्।
लोकतन्त्रलाई परिपक्व बनाउने अवसर
२०८२ फागुन २१ को निर्वाचन केवल सत्ता परिवर्तनको माध्यम होइन, लोकतन्त्रलाई परिपक्व बनाउने ऐतिहासिक अवसर हो। निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवार, उनीहरूलाई समर्थन गर्ने पार्टी, र मत दिने प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझ्न जरुरी छ।
मतदाताले पनि विवेकपूर्ण निर्णय लिनुपर्छ। केवल जात, धर्म, परिवार वा व्यक्तिगत लाभका आधारमा मत नदिई उम्मेदवारको योग्यता, नीति र प्रतिबद्धतालाई मूल्याङ्कन गर्नु लोकतन्त्रको संस्कार हो। नागरिक सचेत रहे मात्र प्रतिनिधि जवाफदेही हुन्छन ।
अन्ततः, जुम्ली जनताको चाहना स्पष्ट छ । नयाँ सोच, नयाँ शैली र जनताको पक्षमा उभिन सक्ने नेतृत्व। नेकपा (एमाले) का उम्मेदवारहरूले विशेषज्ञता, सरलता, जनसुनुवाइ र जवाफदेहिता आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखे मात्र जनताको विश्वास जित्न सक्नेछन् ।
यो निर्वाचन पुराना गल्ती सुधार्ने र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने महत्वपूर्ण क्षण हो। लोकतन्त्रलाई अझ बलियो, पारदर्शी र जनमुखी बनाउन हामी सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। जुम्लाको समृद्धि र नेपालको उज्ज्वल भविष्य हाम्रो आजको सचेत निर्णयमा निर्भर छ ।





