जुम्ला । बिहानैदेखि विमानस्थलमा भीड लागेको हुन्छ। कोही काठमाडौं जाने तयारीमा, कोही बिरामी बोकेर जहाज खाेज्दै , अनि कोही हातमा पैसा लिएर टिकट माग्दै ठिंग उभिएका हुन्छन् । तर जुम्लाको यो हवाई टिकट बजारमा पैसा मात्र होइन, पहुँच” चाहिन्छ । नत्र तपाईं हवाईजहाज होइन, केवल धुलो मात्र हेर्न सक्नुहुन्छ ।

विगत लामो समयदेखि जुम्लामा सञ्चालनमा रहेका निजी एयरलाइन्स कम्पनीहरूले आफ्नो सुविधा र सञ्जालका आधारमा टिकट वितरण गर्दै आएका छन् ।
सैद्धान्तिक रूपमा खुला प्रणालीमा टिकट उपलब्ध हुने भनिए पनि, व्यवहारमा भने एयरलाइन्सका केही कर्मचारीकाे खल्ती बाट टिकट निस्कन्छ । जसले चिन्छ, उसले पाउँछ ।
फोन गरेपछि मात्रै टिकटको संस्कृति जुम्लामा कहिले हुन्छ , यसकाे जिम्मेवार निकाया काे हाे ? कसले समाधान गर्ने नागरिकका समस्या ? यस्ता प्रश्न हरेक जुम्ला बासिका मनमा उब्जिएका छन् ।
टिकट छैन भन्छन्, तर अर्को मान्छेलाई पाँच मिनेटमै दिन्छन् । स्थानीय व्यवसायी गणेश महत भन्छन् । उनको भनाइमा, एयरलाइन्सका कर्मचारीसँग व्यक्तिगत सम्बन्ध भएका वा ठुला व्यक्तिहरूका सिफारिस बोकेकाले सहजै टिकट पाउने गरेकाे गुनासाे छ ।
उनले भने, जुन बेला पनि हामी जस्ता सर्वसाधारण यात्रुहरूलाई फुल बुक भइसक्यो भनेर फर्काइन्छ । उनी भन्छन्, तर त्यही जहाजमा पछि गएर हेर्दा खाली सिट देखिन्छ याे व्यापार हाे टिकटकाे ।
निगम र निजी कम्पनी दुवै दोषी :
नेपाल वायु सेवा निगम र निजी एयरलाइन्स दुवैको नाम यात्रुहरूका गुनासोमा आउँछ । निगम सरकारी भए पनि पारदर्शिता र जवाफदेहिताको कमीले यसको छवि पनि निजी कम्पनीभन्दा फरक छैन ।
कति पटक स्थानीय प्रशासन, नागरिक समाज र जनप्रतिनिधिहरूले टिकट वितरण प्रणाली सुधार्न छलफल गरे। तर प्रत्यक छलफलको नतिजा कागजमै सीमित भयो ।
स्थानीय यात्रुहरूका गुनासो अनुसार, नेपाल वायु सेवा निगम र निजी एयरलाइन्स दुवैको टिकट वितरण प्रणाली पहुँच र सिफारिसमा चल्ने गरेको छ ।
नियमित सेवा दिनुपर्ने निगमका कर्मचारीहरू समेत चिनेको मान्छेलाई टिकट दिने, अरूलाई पर्खाउने प्रवृत्तिमा लिप्त छन्। निजी एयरलाइन्सका कर्मचारीहरू त झन् खल्तीमै टिकट राखेर बेच्ने आरोपमा पटक पटक चर्चामा आएका छन् ।
एयरलाइन्सहरू बीच यात्रुका लागि होइन, मुनाफाका लागि प्रतिस्पर्धा चलिरहेको छ । जुम्लाका एक समाजसेवीले भने, दुवैको मिलेमतोले सामान्य नागरिक हवाई सेवाबाट वञ्चित भइरहेका छन् ।
टिकट वितरण प्रणालीमा सुधार ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा धेरैपटक बैठक र छलफलहरू भएका छन् । स्थानीय प्रशासन, नागरिक समाजका प्रतिनिधि र जनप्रतिनिधिहरूले पनि पारदर्शी प्रणालीको माग गर्दै प्रस्तावहरू अघि सारेका थिए।
तर ती सबै छलफलहरू कागजमै सीमित भएका छन् ।बैठकमा ठूला कुरा हुन्छन्, कार्यान्वयनलचाहिँ कहिल्यै हुँदैन । जुम्लाका एक जनप्रतिनिधिले बताए । हवाई टिकट प्रणालीमा सुधारको कुरा केवल औपचारिकता बनिसकेको छ।
यात्रीहरूका कथा : पैसा छ, टिकट छैन :
गुठिचौरका एक किसानकी श्रीमतीले काठमाडौँमा उपचारका लागि रकम जोहो गरेकी थिइन् । तर तीन दिनसम्म टिकट नपाएर उनी उपचारमा ढिलो पुगिन् । पैसा त थिए, तर पहुँच थिएन, उनले आँखा रसाउँदै भनिन्, । अब बुझें यहाँ पैसा भन्दा पनि ‘मान्छे’ चाहिन्छ ।
टर्मिनल भवनबाट गलहत्याएर सडकमा ल्याउने बेला नआओस्’ भन्ने शब्द अहिले सामाजिक सञ्जालमा जुम्लावासी युवाहरूले कडा टिप्पणी गरिरहेका छन् । टिकट वितरणको यो मनपरी रोकिएन भने टर्मिनल भवनमै बिरोध प्रदर्शन गर्नेछौं सामाजिक सञ्जालमा एक युवाले लेखे ।
स्थानीयहरू भन्छन्, यदि अहिले पनि सरोकारवाला निकायहरू मौन रहे भने, हवाई माफिया विरुद्ध सडक तताउने अवस्था आउन सक्छ ।
पारदर्शी प्रणालीको माग :
हवाई यातायात जुम्लाका लागि विलासी होइन, आवश्यक सेवा हो । रोगी बोकेर राजधानी पठाउने, विद्यार्थी र कर्मचारीहरू हिँड्ने, अनि आपतकालीन आवागमनको प्रमुख माध्यम यही हवाई जहाज हो ।
तर यसको पहुँच केही व्यक्तिको खल्ती र फोनमा सीमित हुनु अन्यायपूर्ण छ। स्थानीयहरू अब एउटै माग दोहोर्याइरहेका छन् । टिकट वितरण खुला होस्, अनलाइन प्रणाली लागू होस्, र हवाई सेवा सबैका लागि समान रूपमा उपलब्ध होस्।
जुम्लाको आकाशमा जहाजहरू त उडिरहेका छन्, तर सर्वसाधारण यात्रुका सपना अझै जमिनमै अड्किएका छन् । सरोकारवाला निकायले अब पनि आँखा नखोले, त्यो सपना एकदिन रोष बनेर सडकमा उत्रिनेछ ।





