जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा खाना तथा विविध र इन्धन खर्चस्वरुप ५६ लाख बढी खर्च गरेको छ ।

पालिकाको आन्तरिक स्रोतको कैयौँ गुणा बढी रकम खाना तथा विविधमा खर्च गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले यस वर्ष खाना तथा विविधतर्फ २३ लाख ११ हजार खर्च गरेको छ ।
यस्तै इन्धन खर्च पनि उच्च छ । पालिकाले विनियोजित बजेट खर्च गर्दा सार्वजनिक श्रोतको अधिकतम उपयोग हुने गरी मितव्ययिता अवलम्बन गरी खरिदकार्य गर्नुपर्दछ ।
पालिकाले यस वर्ष कार्यालय प्रयोजनका लागि ३३ लाख ३५ हजार र अन्य प्रयोजनका लागि २२ हजार गरी ३३ लाख ५८ हजार इन्धनमा खर्च गरेको छ ।
कार्यालयले खर्च लेख्दा कुन कुन गाडीको एवम् मोटरसाइकल लिएको अभिलेख राखी इन्धन खर्च लेख्नुपर्नेमा अभिलेख नराखी इन्धन खर्च लेखेको छ । इन्धन खर्चको अभिलेख राखी अनावश्यक खर्च नियन्त्रण गर्न सुझाव दिइएको छ ।
असुल बेरुजुका सम्बन्धमा गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधि सबैका कमीकमजोरी हुँदा रकम असुल्नुभन्दा तैँ चुप मै चुपको अवस्था छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाका अनुसार असुल बेरुजुबारे सबैलाई रकम फिर्ता गर्न जानकारी दिइएको छ । तर रकम फिर्ता गर्न ढिलाइ गरिरहेको उनको भनाइ छ ।





