जुम्ला । जुम्लामा आजकल रैथाने स्वादको सुगन्ध फैलिएको छ। आज देखि सुरु भएको रैथाने बालीको परिकार बनाउने प्रशिक्षण तालिमले गाउँघरका भान्सा देखि शहरका होटलसम्म जुम्लेली स्वाद पुनर्जीवन दिने संकेत गरेको छ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको आयोजनामा सुरु गरिएको यो दुई दिने तालिमले स्थानीय अन्नबाली र परम्परागत परिकारलाई नयाँ पहिचान दिने उद्देश्य राखेको छ।
तालिममा जुम्लाका विभिन्न विद्यालयका अर्गानिक खाजा कार्यक्रमका कर्मचारी, होटल व्यवसायी, महिला स्वयंसेविका, कृषक समूहका प्रतिनिधि लगायतको उत्साहपूर्ण सहभागिता रहेको छ।
उनीहरूलाई स्थानीय रूपमा उत्पादित कोदो, फाप, जौ, गहुँ, मार्सीधान जस्ता रैथाने बालीबाट पौष्टिक परिकार बनाउन सिकाइँदैछ।
रेरास परियोजनाका क्लस्टर सपोर्ट एसोसियट भीमप्रसाद उपाध्यायका अनुसार, यो तालिम केवल खाना पकाउने अभ्यास होइन, यो हाम्रो स्थानीय खाद्य प्रणाली सुदृढ पार्ने माध्यम रहेकाे बताए ।
उनका अनुसार, परियोजनाले कृषिमा नवीकरणीय ऊर्जाको पहुँच २ प्रतिशत बाट १५ प्रतिशत पुर्याउने, पोषण सुधार गर्ने, उत्पादन र आयआर्जनमा वृद्धि ल्याउने जस्ता लक्ष्यका साथ काम गरिरहेको जानकारी दिए ।
उनले भने, रैथाने बालीबाट बनाइने परिकार केवल स्वादका लागि होइन, पोषण र आर्थिक सशक्तीकरणका लागि पनि महत्वपूर्ण छन् । हामीले किसान र होटल व्यवसायीलाई सशक्त बनाउँदै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने आधार तयार गर्ने कार्यक्रमकाे मुख्य उदेश्य रहेकाे उनकाे भनाइ छ ।
यस्तै तालिमका प्रशिक्षक केशव बहादुर कठायतले सहभागिहरूलाई तालिमकाे अवधिभर विभिन्न परिकार बनाउने सीप सिकाउने बताए । उनका अनुसार, जुन सीप सिक्न बजारमा हजारौं रुपैयाँ खर्च गर्नुपर्छ, त्यही तालिम अहिले परियोजनाले निशुल्क उपलब्ध गराएको छ। यो अवसरलाई अर्थपूर्ण रूपमा लिनु सहभागीहरूको जिम्मेवारी रहेकाे प्रशिक्षक कठायतकाे भनाइ छ ।
रेरास परियोजनाले यस तालिम मार्फत रैथाने बालीको प्रयोग र प्रवर्द्धनद्वारा स्थानीय खाद्य प्रणालीलाई दिगो र आत्मनिर्भर बनाउन खोजेको छ।
रैथाने बालीको प्रयोग बढाएर पोषण सुरक्षामा सुधार ल्याउने,
सहभागीहरूलाई विविध परिकार बनाउने ज्ञान, सीप र व्यवहारिक क्षमता प्रदान गर्ने उदेश्य रहेकाे छ ।
जुम्लाको पहाडी भेगमा फापरको रोटी, कोदोको ढिंडाे,मार्सिधानकाेभात र मार्सी धानको खीर जस्ता परिकार परम्परागत पहिचानका प्रतीक हुन् । ती परिकारहरू अब पुनः लोकप्रिय बन्न थालेका छन् । र यस्ता तालिमहरूले त्यस अभियानलाई थप बल दिने विश्वास गरिएको छ।
दुई दिनसम्म चल्ने यो तालिम शुक्रबार सम्पन्न हुनेछ। आयोजकको भनाइमा, तालिमपछि सहभागीहरू आफ्ना घर, विद्यालय र होटलमा रैथाने बालीका परिकारलाई प्रोत्साहन गर्दै जुम्लालाई रैथाने स्वादको राजधानी बनाउने दिशामा योगदान पुर्याउने छन्।





