जुम्ला । जुम्लामा प्रहरीले जुवाताज खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले चन्दननाथ नगरपालिका–१ निवासी ३६ वर्षीय देसाङ तामाङको घरमा चलिरहेको जुवाखालामा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबु रेग्मीका अनुसार, गुप्त सूचनाका आधारमा प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो ।
छापामारीको क्रममा जुवाताज खेलिरहेको अवस्थामा सात जना व्यक्तिलाई रंगेहात पक्राउ गरिएको र उनीहरूबाट नगद १ लाख ७९ हजार २ सय ८५ रुपैयाँ बरामद गरिएको उनले जानकारी दिए ।
डीएसपी रेग्मीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ। जुवा खेल्नेहरूलाई नियन्त्रणमा लिएर गैरकानूनी क्रियाकलाप विरुद्ध थप कारबाही प्रक्रिया अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयहरूका अनुसार पछिल्ला दिनमा जुम्ला सदरमुकाम क्षेत्रमा लुकीछिपी जुवा तास खेल्ने क्रम बढ्दै गएको थियो । यस्तो अवस्थामा प्रहरीले गरेको यो कारबाहीलाई स्थानीयले स्वागत गरेका छन् । उनीहरूले प्रहरीलाई अझ कडा निगरानी र निरन्तर अनुगमन गर्न माग गरेका छन् ।
प्रहरीले भने, जुवा र अन्य गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ। कानूनको उल्लङ्घन गर्ने जो कोहीलाई पनि छुट दिइँदैन,” डीएसपी रेग्मीले चेतावनी दिए ।
यसअघि पनि जुम्लाका विभिन्न स्थानहरूमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरीले पटक–पटक छापा मारी कैयौंलाई पक्राउ गरिसकेको छ। तर, बारम्बार पुनः यस्तो गतिविधि दोहोरिनुले कानूनी कारबाहीलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवाज उठ्न थालेको छ।





