जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकले ज्यान गुमाएका छन्।
मृतक चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार आइतबार राति करिब साढे १० बजे आफ्नै घरमा सीसीटीभी जडान गर्ने क्रममा महतारालाई अचानक करेन्ट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई मित गणेश बुढाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
मृतक महतारा प्रेस सेन्टर जुम्लाको जिल्ला सदस्य तथा हाम्रो कर्णाली का सम्बादाता समेत रहेका महताराले केही म्युजिक भिडियोमा अभिनय गरी चर्चित भएका थिए।





