जुम्ला । लामो समयदेखि अलपत्र परेको कर्णाली राजमार्गका पाँच ठेक्का अब रद्द हुने निश्चित देखिएको छ। सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार काम नगरेका ठेकेदारविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयका अनुसार कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी कुल पाँचवटा ठेक्का “रुग्ण” सूचीमा परेका छन्। सम्झौताअनुसार पटक–पटक ताकेता गर्दा पनि काम सुरु नगरेपछि अन्ततः ठेक्का तोड्ने तयारी गरिएको हो।
“निर्माण व्यवसायीलाई अन्तिम मौका दिइएको छ,” कार्यालय प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए। उनका अनुसार सूचना प्रकाशित भएको १५ दिनभित्र ठेकेदारले विश्वसनीय कार्ययोजना, स्रोतसाधन परिचालन योजना र काम सम्पन्न गर्ने प्रतिबद्धता पेश नगरे कालोसूचीमा राखी ठेक्का रद्द गरिनेछ।
२०७५/७६ देखि २०७९/८० आर्थिक वर्षभित्र सम्झौता भएका यी ठेक्कामा समयमै काम सुरु नभएकाले धेरैपटक ताकेता गरिएको थियो। तर, सुधार नदेखिएपछि कानुनी कारबाही अघि बढाइएको इन्जिनियर सिंहले जानकारी दिए।
कार्यालयले चेतावनी दिएको छ । तोकिएको समयमा काम सुरु नगर्ने व्यवसायीको धरौटी र पेस्की जमानत जफत गरिनेछ र बाँकी कामका खर्च सरकारी बाँकीसरह असुलउपर गरिनेछ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले देशभरका रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए। उनका अनुसार, “काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अब सह्य हुनेछैन।”
कर्णाली राजमार्गका यी पाँच ठेक्का तोडिने प्रक्रियासँगै क्षेत्रीय पूर्वाधार विकासमा नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ।





