जुम्ला । जलवायु परिवर्तनका कारण बढ्दो आप्रवासनका चुनौतीलाई सम्बोधन गर्न जुम्लाको तिला गाउँपालिकामा “जलवायु प्रेरित आप्रवासनमा रहेका समुदायहरूमा उत्थानशीलता र सशक्तिकरण वृद्धि परियोजना” अन्तर्गत युवा कचहरी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी युवाले जलवायु परिवर्तनका प्रभाव, स्थानीय उत्पादनमा देखिएका समस्या र गाउँमै रोजगारीका सम्भावनाबारे छलफल गरेका थिए। कचहरीमा स्थानीय प्रशासन, कृषि, उद्योग र अनुसन्धान क्षेत्रका विज्ञहरूले युवाको दृष्टिकोणलाई सम्बोधन गर्दै व्यवहारिक समाधानका सुझावहरू प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख प्यानलिष्टहरूमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगी, तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्मा, कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी, र बागवानी अनुसन्धान केन्द्र राजिकाेटकी अधिकृत टीका कुमारी थापा मगर रहेका थिए।
वक्ताहरूले जलवायु परिवर्तनका कारण खेतीपातीमा देखिएको अस्थिरता, उत्पादनमा आएको गिरावट र सीमित रोजगारीका अवसरले युवालाई गाउँ छोड्न बाध्य बनाएको उल्लेख गरे।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मन्दिरनाथ योगीले युवाशक्ति गाउँमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न सक्षम रहेको बताउँदै नीति र स्रोतको प्रभावकारी परिचालनमा जोड दिए।
तिला गाउँपालिका कृषि शाखा प्रमुख राजेश विश्वकर्माले जलवायु अनुकूल कृषि प्रणाली र आधुनिक प्रविधिको प्रयोगमा युवालाई आकर्षित गर्नुपर्ने बताए। उनका अनुसार मौसमी अनिश्चितताले उत्पादकत्व घटाइरहेको हुँदा “स्मार्ट कृषि” र स्थानीय बीउ संरक्षणमा युवाको नेतृत्व आवश्यक छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जलवायु प्रतिरोधी बाली र स्थानीय उत्पादनमा आधारित बजार सञ्जाल विस्तार गर्नुपर्ने सुझाव दिए।
बागवानी अनुसन्धान केन्द्र राजिकाेटकी अधिकृत टीका कुमारी थापा मगरले महिला र युवतीहरूको सहभागिता बिना सशक्तिकरण अधुरो हुने बताइन्। उनले भनिन्, “जलवायु अनुकूल कृषि प्रविधि सिक्न र लागू गर्न युवतीहरू पनि अगाडि आउनुपर्छ।”
आयोजक संस्था किर्डाक जुम्लाका अनुसार कचहरीले सहभागी युवामा आत्मविश्वास, नेतृत्व क्षमता र समाधानमुखी सोच विकास गर्न सहयोग पुर्याएको छ।
कार्यक्रमको निष्कर्षमा स्थानीय युवा र सरकारी निकायबीच सहकार्य गर्दै जलवायु सशक्तिकरण, हरित उद्यम र गाउँमै रोजगारी सिर्जनाका ठोस कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।





